• २७ पुस २०८१, शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण

द्रुत आर्थिक विकासको आधारशिला तयार

blog

काठमाडौँ, मङ्सिर २१ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको आर्थिक विकास, द्विपक्षीय सम्बन्ध विस्तार र विश्वका अन्य देशसँग पनि सहकार्यको ढोका खोलेको छ । 

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबिच भएको नौबुँदे विकास सहकार्यसम्बन्धी सहमति, चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गर्नुभएको नौ अर्ब रुपियाँको अनुदान र बिआरआई कार्यान्वयनसम्बन्धी फ्रेमवर्क सम्झौताले आर्थिक विकास र रूपान्तरणको युग आरम्भ गरेको विश्लेषकहरूको धारणा छ । 

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य, चीनका लागि पूर्वराजदूतद्वय महेन्द्रबहादुर पाण्डे र टङ्क कार्कीले प्रधानमन्त्रीको चीन भ्रमणले नेपालको भूराजनीतिक अवस्था र दुवै निकट छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिन सक्ने आधारशिला तयार गरेको बताउनुभयो । 

पूर्वराजदूत आचार्यले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको दिशालाई दूरगामी महत्वको बाटो देखाएको छ । नौ वटा विकास साझेदारी र बिआरआई फ्रेमवर्कमा हस्ताक्षर आफैँमा महत्वपूर्ण छन् । यो समझदारीले सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउँछ, अझै वृद्धि गर्न ढोका खोलेको छ ।”

पूर्वराजदूत पाण्डेले प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक र महत्वपूर्ण भएको बताउँदै नेपाल र चीन दुवै देशको हित हुने गरी सम्झौता भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “यसले दूरगामी ढङ्गले नेपालको विकास र समुन्नतिमा योगदान गर्छ । नेपाल र चीनको बिचमा मात्रै होइन, नेपालको सम्बन्ध अरू देशसँग पनि विस्तार गर्न सहयोग पुर्‍याउँछ ।” पूर्वराजदूत कार्कीले चीन र भारत दुई आर्थिक शक्तिराष्ट्र बन्दै गर्दा त्यसबाट नेपालले लाभ लिन सक्ने गरी सहकार्यको मार्ग प्रशस्त भएको बताउनुभयो । चीनले नेपालको अपेक्षा अनुसार सहमति गरेको पनि उहाँले बताउनुभयो । 

उहाँले चीन सरकारका तर्फबाट ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी’ मा भएको सहमति आफैँमा सुखद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीनबिच एड फाइनान्सिङ मोडालिटीमा सहमति भएको छ । यसले नेपाल–चीन सम्बन्धका भावी आर्थिक सहकार्यमा कोसेढुङ्गाको काम गर्छ । अब हामी त्यस दिशामा अघि बढेका छौँ ।”

पूर्वराजदूत नीलाम्बर आचार्यले चीन विश्वकै एक शक्तिशाली र दोस्रो आर्थिक शक्तिका रूपमा रहेकाले नेपालको सम्बन्ध नयाँ आयामका साथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चीनसँगको सम्बन्ध नयाँ होइन । बिआरआई विश्वव्यापी प्रक्रियासँग जोडिएको चीनका राष्ट्रपतिको ‘भिजन’ हो । हामीले त्यसमा सरिक भएर आफ्नो विकासमा चीनसँग सम्बन्ध अघि बढाएका छौँ ।”

उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणमा प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति आर्थिक सम्बन्ध, पारवहनसहितका साझेदारीले नेपालको आर्थिक विकासमा सहयोग पुग्छ । यसका साथै हामीले चीनसँगै भारत, अमेरिका, युरोप, रुससहित हाम्रा मित्रराष्ट्रसँग पनि सम्बन्ध बढाउनु पर्छ ।” 

पूर्वराजदूत पाण्डेले बिआरआईबारे थप व्याख्या गर्दै भन्नुभयो, “बिआरआई भनेको बृहत् फ्रेमवर्क हो, यसमा स्वास्थ्य, शिक्षा, ऊर्जा, पूर्वाधार, उद्योगसहित समृद्धिका योजना पर्छन् । नेपालले केमा प्राथमिकता दिने हो भन्ने हो । नेपालले योजना बनाउँदा बिआरआई अन्तर्गतका योजना हाम्रो प्राथमिकतामा राखेर कार्यान्वयनमा जानु पर्छ । चीन त्यसका निमित्त सहमत भयो भन्ने हामीले जान्नु पर्छ ।”