• २७ पुस २०८१, शनिबार

बुटवलमा प्रथम मगर साहित्य महोत्सवको तयारी

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर २० गते । रुपन्देहीको बुटवलमा नेपाल मगर महिला संघको आयोजनामा भोलिदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उदघाटन उपसभामुख इन्दिरा रानाले गर्नुहुनेछ ।

तीन हजार जनाको सहभागिता रहने सो महोत्वसमा मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संक्षणमा टेवा पुग्नेगरी पुस्तक प्रदर्शनी, मगर भाषामा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी तथा बिक्री, साँस्कृतिक झाँकीहरु, पुस्तक विमर्श, डकुमेन्त्री प्रदर्शन तथा छलफल तथा विभिन्न प्यानल डिस्कशन गरिने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिनुभयो  । 

यसैगरी गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिञ्जाली र रेखबहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने उहाँले जानकारी दिनुभयो । 

बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोत्सवमा उपसभामुख इन्दिरा रानाको उपस्थितिमा ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ विषयक प्यानल डिस्कशन हुने प्रचार समिति संयोजक यम रानाले जानकारी दिनुभयो ।

यसैगरी, पूर्व सभामुख ओनसरी घर्ती मगरको उपस्थितिमा ‘मगर महिलाः राजनीतिक र सामाजिक नेतृत्वको सवाल र सम्भावना’ विषयक प्यानल डिस्कशन हुने उहाँले जानकारी दिनुभयो । चर्चित नायिका मिरुना मगरको उपस्थितिमा ‘मगर युवा ः कलाले देश चिन्दै र चिनाउँदै’ शिर्षकमा छलफल हुनेछ । 

यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्यता सुरेश ढकालको प्रस्तुति रहनेछ । सो महोत्सवमा मगर समुदायले बोल्ने ढुट, खाम तथा काइके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद तथा सम्मान गरिने आयोजकको भनाइ छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिने बताइएको छ ।