तिलाचन पाण्डे
तम्घास, मङ्सिर १९ गते । अझै पनि समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने प्रशस्त उदाहरण पाइन्छन् । उनीहरु खाली घरको चुलो चौकोमा मात्र सीमित रहने भन्ने भाष्य पनि समाजमा पर्याप्त पाइन्छ ।
तर गुल्मीमा भने एक सहकारी संस्थाको नेतृत्व नै महिलाहरुले गर्दै मासिक ३० रुपियाँका दरले बचत गर्दै आएको उक्त सहकारीमा अहिले सात करोडभन्दा बढीको पुँजी छ ।
सदरमुकाम तम्घासमा रहेको अमरकल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा अहिले सात करोडभन्दा बढीको पुँजी भएको व्यवस्थापक अञ्जु पन्थीले जानकारी दिनुभयो ।
२०६२ साल असार ३० गते सहकारी डिभिजन सहकारी कार्यालय पाल्पामा दर्ता भई कार्य सुरु गरेको सहकारीमा अहिले सात करोड ५३ लाख ३१ हजार ६३९ रुपियाँ कुल पुँजी रहेको पन्थीले बताउनुभयो ।
सहकारीको माध्यमबाट सुपथ पसल सञ्चालन, कृषि तथा व्यापारहरुमा लगानी गर्दै आएको संस्थाले जनाएको छ । महिलाहरुले सञ्चालन गरेको सहकारीको माध्यमबाट आफूहरु ढुक्कका साथ आफना कुराहरु राख्न सक्ने र ससानो रकमका लागि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको संस्थाका अध्यक्ष गीता पाण्डेले बताउनुभयो ।
सहकारीले जिल्लामा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आस्रय दिनुका साथै उचित मार्ग देखाउँदै आएको पन्थीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले महिलाहरु पनि पछिल्लो समयमा उदाहरणीय कार्यमा लागेको भन्दै अझै परिस्कृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पहिले चुलो चौकोमा मात्रै सीमित रहने महिलाहरु अहिले खुलेरै नेतृत्व गर्ने स्थानमा पुग्नु गर्वको विषय भएको बताउनुभयो ।
पछिल्लो समयमा केही सहकारी संस्थाहरुको बदनियतका कारण सबै सहकारीहरुलाई ट्याग लाग्ने गरेको बताउँदै सहकारीलाई सही तरिकाले सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । नगरपालिकाले नगरभित्रका सहकारीहरुलाई नियमन गर्ने अधिकार पनि भएकाले सूक्ष्म तरिकाले नियालेको उहाँको दाबी छ ।