• ८ पुस २०८१, सोमबार

नेपालगन्जका ई–रिक्सा चालकलाई लाईसेन्स वितरण सुरु

blog

क्याप्सनः ई–रिक्सा चालकलाई अस्थायी सवारी चालक अनुमति पत्र प्रदान गरिँदै । तस्बिरः कमल खत्री

कमल खत्री
धम्बोझी, मङ्सिर १९ गते ।
नेपालगन्जमा पछिल्लो समयको प्रमुख समस्याको रुपमा रहेको छ, ई–रिक्सा व्यवस्थापन । नगरमा चल्ने ई–रिक्साको व्यवस्थापन नहुँदा दैनिक जस्तो दुर्घटना भइरहेको छ । नेपालगन्ज नगरमा ई–रिक्सा दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या बढिरहेको छ ।

अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका अनुसार नेपालगन्ज नगरमा झण्डै १० हजारभन्दा बढी ई–रिक्सा छन् । तर आधिकारिक रुपमा दर्ता भएको ई–रिक्साको सङ्ख्या पाँच हजार पुग्दैछ । ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपालगन्ज उप–महानगरपालिकाले कार्यविधि नै बनाएर काम गरिरहेको छ ।

जसअन्तर्गत नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्र ई–रिक्सा व्यवस्थापन गर्ने उद्देश्यले चालकहरुका लागि अस्थायी अनुमति पत्र र अनिवार्य रुपमा नगरमा दर्ताका लागि नियम बनाएको छ ।

त्यही नियमलाई कार्यान्वयन गर्नका लागि नेपालगन्ज उप–महानगरपालिकाले नेपाल ई–रिक्सा व्यवस्थापन प्रालीलाई जिम्मेवारी दिएको छ । प्रालीले पछिल्लो समय ई–रिक्सा व्यवस्थापनका क्षेत्रमा थुप्रै काम गरिरहेको छ ।

पहिलो चरणमा प्रालीले ६० जना अस्थायी सवारी चालक अनुमति पत्र, ज्याकेट वितरण गरेको छ । ट्राफिक नियमको बारेमा सचेतना मुलुक कार्यक्रम गरेर अनुमति पत्र वितरण गरेको बताउनुहुन्छ, नेपाल ई–रिक्सा व्यवस्थापन प्रालीका अध्यक्ष कुमार सिंह ठकुरी ।

उहाँले भन्नु भयो, ‘‘ई–रिक्साका क्षेत्रमा धेरै नकारात्मक भ्रमहरु छन् । हामीले ई–रिक्सा चालक र धनीको सुरक्षाका लागि काम गरिरहेको छौं । उहाँको पेशालाई सुरक्षित बनाउन काम गरिरहेका छौं । नेपालगन्ज उप–महानगरपालिकाले पनि ई–रिक्सा व्यवस्थापनलाई चासोका साथ लिएको छ । उप–महानगरपालिकाको सहयोगले नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन विगतभन्दा राम्रो हुँदै गएको छ ।’’

नेपालगन्जमा भएको कार्यक्रममा ई–रिक्सा चालकहरुलाई अटोटेम्पो तथा ई–रिक्सा व्यवस्थापन समितिका अध्यक्ष धिरज प्रताप सिंह, उप–महासचि एजाज बाबु जोलाह, ट्राफिक प्रहरी हवल्दार प्रकाश चौधरी लगायतले ट्राफिक नियम र दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनुभएको छ ।

तर ई–रिक्सा चालकहरुले अनुमतिपत्र लिन, ई–रिक्सा नगरमा दर्ता गर्न बेवास्ता गरेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ, नेपाल रिक्सा व्यवस्थापन प्रालीका अध्यक्ष कुमार सिंह ठकुरी । सुचिकृत भएका ई–रिक्सा र चालकलाई नियगमन गर्नमा पनि सजिलो हुने उहाँले बताउनुभयो ।

नेपालगन्ज उप–महानगरपालिकाबाट हालसम्म करिब सात सयले मात्र अस्थायी अनुमति पत्र लिएका छन् । बाँकीलाई क्रमशः अनुमति पत्र लिनका लागि अध्यक्ष ठकुरीले आग्रह गर्नुभयो । यसैगरी, ई–रिक्सा चालकहरुको सुविधाका लागि नेपाल ई–रिक्सा व्यवस्थापन प्रालीले ई–सेवासँग सहकार्य गरेर नयाँ कामको सुरुआत गरेको छ । प्राली नगरभित्र गुडने ई–रिक्सा चालकको परिचय पत्रमा ई–सेवाको क्युआर कोड राखेर वितरण गरेको छ । यसले ई–रिक्सा चल्ने यात्रीले अब डिजिटल प्लेटफर्मबाट पनि रकम दिन सक्नेछन् ।