• १० माघ २०८१, बिहिबार

घण्टाघर घडीमा स्वचालित दम

blog

काठमाडौँ, मङ्सिर १८ गते । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ । 

यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो घडीलाई नियमित रूपमा दम दिन भने नपर्ने भएको छ । 

क्याम्पस पुनर्निर्माणका क्रममा राणाकालीन भवन तथा त्यस ठाउँको चिनारीका रूपमा रहेको घण्टाघर तथा घडीलाई पनि पुरानै स्वरूपमा राख्नुपर्ने आममानिसको मागबमोजिम संरचनाको कुनै पनि स्वरूप नबिग्रने गरी प्रबलीकरणको काम भइरहेको निर्माण कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले जनाएको छ । उक्त कम्पनीका परियोजना व्यवस्थापक सुशील थापाले पुरानै शैलीमा घडीमा नियमित रूपमा दम दिन जनशक्तिको अभाव भएका कारण प्रणालीले आफैँ दम दिने गरी निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार घण्टाघरमा पुरानै घडी राखिने छ भने त्यस घडीले पुरानै शैलीमा आवाज पनि दिने छ । “पुरानो स्वरूप नबिग्रियोस् भन्नेमा हामी सचेत छौँ । पुरानो घडीमा नियमित दम दिन एक जना कर्मचारी मात्रै रहनुभएको रहेछ । उहाँले अवकाश पाएपछि घडीमा दम दिने मान्छे पनि रहने छ,” थापाले भन्नुभयो, “जनशक्ति अभाव भएको अवस्थामा घडी चल्न नै नछोडोस् भनेर प्रणाली आफैँले दम दिने व्यवस्था गर्न लागेका हौँ । अरू केही पनि नयाँ संरचना थपिँदैन ।”

क्याम्पस प्रमुख नीलम श्रेष्ठ (प्रधान) ले पनि घडीको पुरानो स्वरूप नबिगार्न भवन निर्माणका लागि बजेट विनियोजन गरिदिएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) र निर्माण कम्पनीलाई अनुरोध गरेको बताउनुभयो । भवन पुनर्निर्माणकै चरणमा रहेका कारण त्यहाँ घडी जडान हुन भने बाँकी नै छ ।

पुनर्निर्माण ७० प्रतिशत सम्पन्न

मुलुकको उच्च शिक्षाको सबैभन्दा पुरानो थलोका रूपमा परिचित त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त भवन पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पबाट ती संरचना क्षतिग्रस्त भएका थिए । २०७९ माघ महिनादेखि पुनर्निर्माण कार्य सुरु भएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले पुनर्निर्माण गरिरहेको छ । यसका लागि ५१ करोड रुपियाँ विनियोजन गरिएकोमा ठेकेदार कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले करिब ३४ करोड ६७ लाख ४६ हजार रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी सकारेको थियो ।

निर्माण कम्पनीका परियोजना व्यवस्थापक थापाका अनुसार करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यहाँ एउटा साढे दुईतले भवन नयाँ निर्माण भइरहेको छ भने अर्को तीनतले भवनको रेट्रोफिटिङ (प्रबलीकरण) गरिएको छ । प्रबलीकरण गरिएको र नयाँ बनाइएका दुवै भवनमा पुरातत्व विभागको मापदण्डबमोजिम निर्माण सामग्री प्रयोग गरिएको छ ।

क्याम्पस प्रशासनका अनुसार भूकम्पका कारण क्याम्पसको घण्टाघरतर्फको भवनको अधिकांश भाग धरापमा परेको थियो । सो भवनमा जोखिमका साथ पठनपाठन हुँदै आएको थियो । पुरानो भवन निर्माण गरिँदा त्यहाँ सञ्चालन हुँदै आएका कक्षालाई पश्चिमतर्फको सरस्वती सदन र अस्थायी कक्षाकोठामा सञ्चालन गरिँदै आएको छ । सो क्याम्पस १९७५ सालमा स्थापना भएको थियो । सुरुमा त्रिभुवन–चन्द्र क्याम्पसका रूपमा स्थापना भए पनि पछि नाम परिवर्तन गरी त्रिचन्द्र क्याम्पस बनाइएको थियो ।

हाल पुनर्निर्माण सुरु भएको ऐतिहासिक भवनको १९७६ असोज २७ गते तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चालाई चाँदीको साँचोले खोलेर उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटनको दिन तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई खोकी लागेकाले उहाँको लिखित सम्बोधन तत्कालीन बडाकाजी मरिचमान सिंहले पढेर सुनाउनुभएको भनाइ छ । सो भवन निर्माण हुनुअघि त्यहाँ घण्टाघर र वीर पुस्तकालय थियो । 

ती दुवै संरचनासँग जोडेर त्रिचन्द्र क्याम्पस भवन निर्माण गरिएको थियो । त्यतिबेला सो भवन ७० हजार रुपियाँमा निर्माण गरिएको थियो । २०३० सालदेखि त्रिचन्द्र क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन हुँदै आएको छ । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।