• १३ साउन २०८१, आइतबार

गठबन्धनका उम्मेदवार अग्रस्थानमा

blog

हेटौँडा, जेठ ५ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचनको हालसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक भएको मत परिणाममा सत्तारूढ गठबन्धन अगाडि रहेको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । 

दुधौली र मरिणमा गठबन्धन फिक्कलमा एमाले विजयी

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ । प्रमुखमा नेकपा (माओवादी केन्द्र)का दिनेश अधिकारी दनुवार १५ हजार ८३८ मत प्राप्त गरी निर्वाचित बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेपाली काँग्रेसका चन्द्रकिशोर थारूले १४ हजार २१३ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकुमारी अधिकारी दनुवारले १० हजार ६११ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १४ वटा वडा रहेको नगरपालिकामा सातवटा वडाको वडाध्यक्ष काँंग्रेस, चारवटा वडाको वडाध्यक्ष एमाले र तीनवटा वडाको वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ ।

मरिण गाउँपालिकामा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले पाँच हजार १९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दलाल माझीले चार हजार ७६० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका विमला माझीले पाँच हजार २८१ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मञ्जु माझीले ५०८ मत प्राप्त गर्नुभएको छ । सातवटा वडा रहेको पालिकामा वडा नम्बर ४ मा एमालेले र बाँकी छ वडामा माओवादी केन्द्रले जित हात पारेको छ । 

यस्तै फिक्कल गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका पार्वती सुनुवार चार हजार ६२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका नृपबहादुर भुजेलले चार हजार १७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेकै राजु बरालले चार हजार २५६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीले तीन हजार ४२६ मत प्राप्त गर्नुभएको छ ।

कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिका मत परिणाम आउन बाँकी रहेको छ । यसैबीच सिन्धुली जिल्लामा ७९ वडामध्ये हालसम्म ६७ वडाको मत परिणाम सार्वजनिक भएको छ । कार्यालयका अनुसार काँग्रेसले २९ वटा वडा, माओवादी केन्द्रले २३ वटा वडामा र एमालेले १५ वटा वडामा वडाध्यक्ष जितेको छ । 

थाहा, बकैया र गढीमा गठबन्धनको जित

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएका तीनवटै पालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । थाहा नगरपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बुधबार सार्वजनिक मत परिणामअनुसार बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका धर्मराज लामिछाने फराकिलो मत अन्तरसहित निर्वाचित हुनुभएको छ । लामिछानेले ११ हजार २९२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरला बोलखेले सात हजार ६६ मत प्राप्त गर्नुभएको छ । बोलखे यसअघि २०७४ मा पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भक्तबहादुर खत्री नौ हजार ५२२ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका लालबहादुर स्याङ्तानले सात हजार ६३२ मत प्राप्त गर्नुभएको छ । १२ वटा वडा रहेको पालिकामा काँग्रेसले पाँचवटा, माओवादी केन्द्रले चारवटा वडा र एमालेले तीन वडाको वडाध्यक्ष जितेको छ ।

यस्तै थाहा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर विष्ट र उपप्रमुखमा नेपाली काँग्रेसका भरत गोपाली विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित विष्टले नौ हजार ७१९ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले सात हजार ७७१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा विजयी गोपालीले आठ हजार ६०७ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ वटा वडा रहेको पालिकामा माओवादी केन्द्र छ, तीन काँग्रेस र एमालेले तीन र तीनवटा वडाध्यक्ष जितेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रका मानकुमारी नेपाली पाख्रिन विजयी बन्नुभएको छ । अध्यक्षमा निर्वाचित स्याङ्तानले छ हजार ७०६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विदुर हुमागाईंले पाँच हजार ६४५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा विजयी पाख्रिनले छ हजार ११० मत ल्याउनु हुँदा सन्तु थिङले पाँच हजार पाँच हजार २०४ मत प्राप्त गर्नुभएको थियो । आठवटा वडा रहेको यस पालिकामा काँग्रेसले वडा नम्बर १, २, ५, ६, ७ र ८ तथा एमालेले ३ र ४ वडाको वडाध्यक्ष जितेको छ । मत गणना जारी रहेको हेटौँडा उपमहानगरपालिका, बागमती गाउँपालिका र मनहरी गाउँपालिका गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

वैतेश्वरमा लामा र उप्रेती 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका छवि लामा र कल्पना उप्रेती विजयी हुनुभएको छ । अध्यक्षमा विजयी लामाले पाँच हजार २९९ मत र प्रत्यासी नेकपा एमालेका माधवप्रसाद घिमिरेले तीन हजार १७२ मत पाउनुभएको छ । त्यसैगरी उपाध्यक्षमा विजयी उप्रेतीले पाँच हजार २७३ मत र नेकपा माओवादी केन्द्रका कल्याण दाहालले दुई हजार ७१८ मत पाउनुभयो । 

त्यस्तै तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट प्रोणप्रताप केसी र नेपाली काँग्रेसबाट उपाध्यक्षमा सिर्जना सुवेदी विजयी हुनुभएको छ । केसीले पाँच हजार ४९० मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अभिषेक सुवेदीले तीन हजार ४६६ पाउनुभएको छ । उपाध्यक्षमा विजयी सुवदीले पाँच हजार ४४१ मत र उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बिका पोखरेलले तीन हजार ३५१ मत पाउनुभएको छ । 

भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिकामा मतगणना जारी रहेको छ । दुई नगरपालिका र सात गाउँपालिकामा रहेका ७४ वडामा स्वतन्त्र दुई, एकीकृत समाजवादी दुई, काँग्रेस २०, माओवादी केन्द्र १७ र एमाले १८ वडामा वडाध्यक्ष विजयी भइसकेका छन् । 

खैरहनीमा काँग्रेस र कालिकामा एमाले 

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार चितवनको कालिका नगरपालिकाको प्रमुखमा एमालेका विनोद रेग्मी निर्वाचित हुनुभएको छ । रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा एमालेका विमला लामा १० हजार ४४९ मत प्राप्त गरी विजयी हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कविता लामाले नौ हजार ६८८  मत प्राप्त गर्नुभयो । एमालेले २, ४, ९ र ११ र काँग्रेसले १, ५, ६, ७ र १० तथा माओवादी केन्द्रले दुईवटा वडामा वडाध्यक्ष जितेको छ । यस्तै खैरहनी नगरपालिकामा गठबन्धनबाट काँग्रेसका शशीकुमार खनियाँ निर्वाचित हुनुभएको छ । 

खनियाँले १४ हजार ५४५ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेका कविता उप्रेतीले १४ हजार १६४ मत प्राप्त गरी विजयी बन्दा उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मी ढकाल नौ हजार ६७० मत प्राप्त गर्नुभयो । खैरहनी नगरपालिका वडा नम्बर १, २, ३, ८, १० र १२ मा काँग्रेसका तथा ४, ५ ६, ७, ९, ११ र १३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।  इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल दुवै एमालेबाट निर्वाचित हुनुभएको छ । 

एमालेका दानबहादुरले छ हजार ११० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी काँग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा सिलवालले पाँच हजार ३४४ मत प्राप्त गर्दै गर्दा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका प्रताप गुरुङले पाँच हजार ४४ मत ल्याउनुभएको थियो । गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी, २, ३, ४ र ५ र ६ मा एमाले तथा ७ वडाको वडाध्यक्षमा काँग्रेसले विजय हासिल गरेको छ ।

दुई पालिकामा काँग्रेस, एकमा एमाले विजयी

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछाप जिल्लाको आठ स्थानीय तहमध्ये पाँचवटाको नतिजा आएको छ । लिखुतामाकोसी गाउँपालिका अध्यक्षमा काँग्रेसका केशव महत निर्वाचित हुनुभएको छ । महतले पाँच हजार ११२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कमल कडेरियाले चार हजार आठ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकी दीपा पाख्रिन निर्वाचित हुनुभएको छ । पाख्रिनले चार हजार १२६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङ खड्काले तीन हजार ९३३ मत प्राप्त गर्नुभएको छ । एमालेले उपाध्यक्षसहित तीन वडा, काँग्रेसले अध्यक्षसहित दुई वडा र माओवादी केन्द्रले दुईवटा वडाध्यक्ष जितेको छ ।  

यस्तै उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार तीन हजार ७२८ मत उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितबहादुर कटुवालले दुई हजार १७२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विजयी काँग्रेसकी सावित्री सुनुवारले दुई हजार ९२२ मत पाउनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी गङ्गा कार्कीले दुई हजार ८३४ मत प्राप्त गर्नुभएको छ । सातवटा वडा रहेको यो गाउँपालिकामा एमालेले चारवटा वडाध्यक्ष, माओवादी केन्द्रले दुईवटा र काँग्रेसले एउटा वडाध्यक्ष जितेको छ । 

गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित काजीबहादुर खड्का (दिनेश)ले छ हजार ९३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका खड्गबहादुर सुनुवारले चार हजार ७१० मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा निर्वाचित काँग्रेसकी उषादेवी कार्कीले पाँच हजार २५३ पाउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले चार हजार ६८६ मत प्राप्त गर्नुभएको छ । 

खानीखोलामा गठबन्धन विजयी 

बनेपामा समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ चार हजार ४८५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका शेखर लामाले तीन हजार १५६ मत ल्याउनुभएको छ ।

यसैगरी गाउँपालिकाको उपाध्यक्ष काँग्रेसका दोर्जेमान जिम्बाले चार हजार ३२८ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी एमालेकी रुक्मिणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५ मा माओवादी केन्द्र, वडा नम्बर २ र ६ मा काँग्रेस र वडा नम्बर ७ मा एमालेले वडाध्यक्ष जितेका छ । यसअघि भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

१० पालिकाको परिणाम सार्वजनिक 

नुवाकोट समाचारदाता नमराज सुवेदीका अनुसार नुवाकोटको १० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । शिवपुरी गाउँपालिकामा काँग्रेसका गोविन्द थपलिया विजयी हुनुभएको छ । यस्तै तारकेश्वर, म्यागङ, सूर्यगढी, लिखु, शिवपुरी र तादी गाउँपालिकाका अध्यक्षमा काँग्रेस, पञ्चकन्या, दुप्चेश्वर र ककनीमा माओवादी केन्द्रको अध्यक्ष तथा किस्पाङ गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

शिवपुरी, तारकेश्वर, किस्पाङ र तादीको उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका छन् । म्यागङ, सूर्यगढी र लिखुमा अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । विदुर र बेलकोटगढीको मत गणनाको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।


Author

बागमती प्रदेश ब्युरो