चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा करिब ४५ प्रतिशत मत खसेको छ । उपनिर्वाचनअन्तर्गत सिकैँचाको वडाध्यक्ष पदका लागि भइरहेको मतदानमा १ बजे सम्ममा कुल ४४.८२ प्रतिशत मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार दुईवटा मतदान स्थलमध्ये सरस्वती माध्यमिक विद्यालय कुञ्जारीमा ४७३ मत खसेको छ । यस्तै दुर्गा माध्यमिक विद्यालय ओसेमा दिउँसो १ बजेसम्म २१२ मत खसेको तामाङले जानकारी दिनुभयो ।
सिकैँचाको उपनिर्वाचनमा कुल एक हजार ५२८ मतदाता छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सरस्वती माध्यमिक विद्यालय कुञ्जारी मतदानस्थलमा एक हजार २६ र दुर्गा माध्यमिक विद्यालय ओसेमा ५०२ मतदाता छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म मर्यादित र शान्तिपूर्ण रुपमा भइरहेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिकैँचको वडाध्यक्ष पदका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसमेत पाँच दलका उम्मेदवार प्रतिस्पर्धामा छन् ।