राधा लुइटेल
फिदिम, असार २५ गते । लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो ।
फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
डाइभर्सन मर्मत गरी पुनः राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
यो सडक पाँचथरको हिलिहाङ, याङवरक तथा छिमेकी जिल्ला ताप्लेजुङसँग आवतजावत गर्ने मुख्य सडक हो । खोलामा पटकपटक बाढी आउँदा बेली ब्रिज बग्ने घटना भइरहेकाले अहिले डाइभर्सनमार्फत अस्थायी रुपमा सवारी आवागमन सञ्चालन हुँदै आएको छ । गत जेठ ३१ गते निर्माणाधीन बेली ब्रिज भाँचिँदा तीन जनाको ज्यान गएको थियो ।