चन्द्र पन्दाक
ताप्लेजुङ, असार २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकाराम पौडेलको घर आगलागीबाट नष्ट भएको हो ।
हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएको पौडेलको घर आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
घर आगलागी हुँदा भएको क्षतिको यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । यता विद्युत् सर्ट भएर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष गुरुङको भनाइ छ ।