• २५ असार २०८२, बुधबार

पानी नपर्दा किसान चिन्तित, कोशीमा २९ प्रतिशत रोपाइँ

blog

आकाशे पानी नपरेपछि रोपाइँ गर्न बाँकी रहेको खेत ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार २५ गते । असारको अन्तिम सातासम्म पनि औसतभन्दा कम पानी परेपछि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाइँ भएको छ ।

कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत भवानी बस्नेतका अनुसार गत वर्ष असारको २१ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा ३४ दशमलव ४३ प्रतिशत रोपाइँ भएको थियो । 

गत वर्षको तुलनामा ५ प्रतिशत मात्र कम रोपाइँ भएको सरकारी तथ्याङ्क भए पनि फिल्डमा तथ्याङ्क अनुसार रोपाइँ हुन नसकेको किसानको भनाइ छ । निर्देशनालयले मोरङमा ३१ दशमलव ५० प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्ष मोरङमा झण्डै ६० प्रतिशत रोपाइँ भएको थियो ।  

दक्षिणी मोरङका रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका र कानेपोखरी, धनपाल, जहदा र कटहरी गाउँपालिकाका अधिकांश किसानको खेत बाँझै छ । मोरङमा यी पालिकामा धानको सघन खेती हुने गरेको छ । 

कोशी प्रदेशमा सबैभन्दा बढी पाँचथरमा रोपाइँ भएको छ ।  निर्देशनालयको तथ्याङ्क अनुसार पाँचथरमा ५९ प्रपतशत रोपाइँ भइसकेको छ । यस्तै भोजपुरमा ५८ प्रतिशत र  खोटाङमा ५७ प्रतिशत रोपाइँ भएको छ । पहाडका यी जिल्लामा रोपाइँ हुने जग्गा अत्यन्त कम छ । 

निर्देशनालयका अनुसार ५ हजार ८४८ हेक्टर, १२ हजार ५० हेक्टर र खोटाङमा १० हजार १८ हेक्टर जग्गामा धान खेती हुनेगरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने झापा जिल्लामा हालसम्म २१ प्रतिशत मात्र रोपाइँ भएको छ । झापामा ७५ हजार ५५९ हेक्टर क्षेत्रमा धान खेती हुनेगरेको छ । 

यस्तै मोरङमा ६९ हजार ८१७ हेक्टरमा धान खेती हुने गरेको छ । सुनसरीमा पनि यो वर्ष धान रोपाइँ हुन सकेको छैन । जिल्लाको ४८ हजार ९ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म सुनसरीमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ । 

सुनसरी मोरङ सिचाइँ आयोजनाको चतरा मूल नहरबाट आवश्यकताअनुसार पानी नआउँदा रोपाइँ हुन नसेकेको चतरा मूल नहरका सचिव खङ्गलाल साहले बताउनुभयो ।