• २५ असार २०८२, बुधबार

घोडाघोडीमा हरिहाँसको गणना हुँदै

blog

घोडाघोडी तालमा रहेको हरिहाँस । तस्बिर सौजन्यः हिरुलाल डङ्गौरा

अविनाश चौधरी

धनगढी, असार २५ गते । कैलालीस्थित विश्व रामसार क्षेत्रमा सूचीकृत प्रसिद्ध घोडाघोडी तालमा हरिहाँसको गणना भइरहेको छ । घोडाघोडीको सूचक प्रजाति रहेका हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले डिभिजन वन कार्यालय पहलमानपुरसँगको समन्वयमा नेपाल पंक्षी संरक्षण सङ्घ (बिसिएन) ले हरिहाँसको गणना गरिरहेको हो । 

यो तालमा गर्मी सिजन र जाडो याममा गरेर हरेक वर्ष दुई पटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिने चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँले यो बेला हरिहाँसको ब्रिडिङ सिजन रहेकाले जाडो यामको भन्दा कम देखिने गरेको बताउनुभयो । 

गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । भजनी नगरपालिका –९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा समेत हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । यसैगरी, घोडाघोडी नगरपालिका –१२ को गुरही र वडा २ को जोकाहा तालमा पनि हरिहाँसले ब्रिडिङ गर्ने गरेको जनाइएको छ । 

जाडो याममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गरेको डङ्गौराको भनाइ छ । प्राकृतिक वासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको जनाइएको छ । 

बिसिएनका अनुसार घोडाघोडीमा २००९ देखि हरेक वर्ष नियमित हरिहाँसको गणना भइरहेको छ । २००९ मा १५५ हरिहाँस अभिलेख भएका थिए । यसैगरी, २०२३ मा २२१ र २०२४ मा २२५ हरिहाँस अभिलेख भएको जनाइएको छ ।