सन्तोष दहित
दाङ, असार २५ गते । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले मुक्त कम्लरीहरुलाई बङ्गुर पालनमा सहयोग गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय लुम्बिनीको सहयोगमा लक्षित विशेष आय आर्जन कार्यक्रममार्फत मुक्त कम्लरीलाई बङ्गुरपालनमा सहयोग गरेको भेटनरी अस्पताल तथा पशु विकास अधिकृत तथा सूचना अधिकारी कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा ८ कटुकी सेवारस्थित मुक्त कम्लरी परिवारलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले एक परिवारलाई ५० हजारको दरले सहयोग गरेको उहाँले बताउनुभयो । ‘प्रदेश सरकारले मुक्त कम्लरी परिवारको आय आर्जनमा सहयोग गर्ने उद्देश्यले १० लाख पठाएको थियो, उहाँले भन्नुभयो, –सोहीअनुसार हामीले २० मुक्त कम्लरी परिवारलाई ५० हजारको दरले बंगुरपालन खोर निर्माण र बंगुरको बच्चामा लगानी गरेका छौं ।’
‘प्रदेश सरकारको कार्यविधिअनुसार मुक्त कम्लरीले २० जनाको समूह बनाएर आएपछि हामीले स्थानीय सरकारसँग समन्वय गरेर उक्त सहयोग गरेका हौं’, सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “यस कार्यक्रमले मुक्त कम्लरी परिवारको आय आर्जनमा सहयोग पुग्ने विश्वास छ ।’ उहाँको अनुसार सत प्रतिशत अनुदानमार्फत १० लाखको २० वटा व्यवस्थित बङ्गुरपालन खोर र ६० वटा बङ्गुरको बच्चा हस्तान्तरण गरिएको थियो । एक परिवारलाई एउटा खोर र उन्नत जातको ३–३ वटा बङ्गुरको बच्चा सहयोग गरेको सूचना अधिकारी न्यौपाले बताउनुभयो ।
यसैबिच आफूहरुलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बंगुरपालनका लागि सहयोग गरेकोमा मुक्त कम्लरी एवं जनचेतना महिला कृषक समूहका अध्यक्ष दिलकुमारी चौधरीले प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । ‘हाम्रो कुरा पनि सरकारले सुन्छ भन्ने विश्वास अहिले एक उदाहरणको रुपमा प्रमाणित भएको छ’ उहाँले भन्नुभयो, “यो सहयोगले मुक्त कम्लरी परिवारका लागि ठुलो राहत भएको छ, यसले आफ्नो जीवनस्तरमा सुधार ल्याउन आशा राखेका छौं।’ ‘यसअघि पनि हामीले बङ्गुरपालन गर्दैआएका थियौं, तर आर्थिक अवस्था कम्जोर भएकै कारण गतिलो खोर बनाउन सकेका थिएनौं, उहाँले भन्नुभयो, “सरकारले पक्की र व्यवस्थित खोर निर्माण गरिदिएपछि हामीलाई बङ्गुर पालनमा सहज भएको छ, यसले हाम्रो आय आर्जनमा सहयोग पुगेको छ ।”