• २५ असार २०८२, बुधबार

कोरोना भाइरसको विशेष खोप अभियान सुरु

blog

फाइल तस्बिर

महेन्द विष्ट

विराटनगर, असार २४ गते । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न थालेपछि  विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ । 

दीर्घरोगी र ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको  महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । 

खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताउनुभयो ।

पछिल्लो विवरणअनुसार महानगरपालिका क्षेत्रका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । जसले सङ्क्रमणको लहर पुनः सक्रिय हुने सङ्केत गरेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगर –२ मा सङ्क्रमण पुष्टि भइसकेका छन् ।

सङ्क्रमितहरूमा केही सामान्य लक्षण मात्र देखिए पनि समुदायमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ । उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकलाई सङ्क्रमणबाट जोगाउन खोप अनिवार्य देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले बताउनुभयो ।

महानगरपालिकाले मास्क प्रयोग गर्न, भिडभाडबाट टाढा रहन, साबुनपानीले नियमित हात धुन तथा आधारभूत स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

सङ्क्रमण फैलिन नदिन महानगरले ज्वरो, खोकी, नाकबाट पानी बग्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्काल  चिकित्सकको सम्पर्कमा पुग्न सबैमा आग्रह गरेको छ । ‘यस्ता लक्षणहरू कोरोना भाइरसको सुरुआती सङ्केत हुन्,’ डा. यादवले भन्नुभयो, ‘यस्तो अवस्थामा लापरबाही गर्नु सामूहिक जोखिम निम्त्याउने काम हो ।’