पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असार २५ गते । मनसुन सक्रिय भएसँगै बाढी र डुबानको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको नारायणी नदी आसपासका बस्तीहरूमा प्रहरीले बाढी तथा डुबानसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। बाढी विपद्जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीको टोलीले स्थानीय बासिन्दाहरूलाई सचेत गराएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले यस वर्ष मनसुन सक्रिय भएकाले नारायणी नदीको जोखिममा रहेका बस्तीहरूमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार, प्रहरीले जनतामाझ पुगेर बाढी तथा डुबानसम्बन्धी सचेतनामूलक कार्य गरेको छ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक शिव कुमार क्षेत्री र प्रहरी चौकी रामनगरका प्रहरी सहायक निरीक्षक थमनबहादुर ठाडाको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय बासिन्दाहरूलाई भेला गराई माइकिङमार्फत महत्त्वपूर्ण जानकारी दिएको छ। स्थानीय मानिसहरूलाई नारायणी नदीमा हुन सक्ने सम्भावित बाढी तथा डुबानको जोखिमबारे सचेत गराइएको थियो।
विशेषगरी, विगतका वर्षहरूभन्दा यस वर्ष भारी मात्रामा वर्षा हुने र नारायणी नदीको सतह तथा पानीको बहाव अत्यधिक उच्च हुने जानकारी प्राप्त भएको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको थियो। प्रहरी निरीक्षक क्षेत्रीले स्थानीयहरूलाई बाढी तथा डुबानबाट हुन सक्ने मानवीय, भौतिक लगायतका धनजनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी र सतर्कताका उपायहरूबारे विस्तृत रूपमा जानकारी गराउनुभयो।
प्रहरी टोलीले बालबालिका, वृद्धवृद्धा र अन्य कमजोर वर्गका मानिसहरूलाई विशेष ध्यान दिन, नदी क्षेत्रमा अनावश्यक रूपमा नजान र कुनै पनि आपत्कालीन अवस्थामा सुरक्षित स्थानमा सर्नका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको यस टोलीले स्थानीयलाई प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिँदै परिवार र छरछिमेकमा समेत जानकारी गराउन अनुरोध गरेको छ। यस सचेतनामूलक कार्यक्रमले सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।