काठमाडौँ, असार २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा काँस्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख रुपियाँ पुरस्कार–प्रमाणपत्र प्रदान गरियो ।
यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमती विष्टसहितलाई एक लाख ५० हजार रुपियाँका दरले पुरस्कार दिइएको छ । यस्तै, गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाख रुपियाँका दरले पुरस्कार दिइएको छ ।
उहाँहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो । साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
“हामीले सङ्गठितरुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडीहरु व्यवसायिक रुपमा अगाडि बढेका छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायरुलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।”
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताउनुभयो ।