नवलपुर, मङ्सिर १६ गते । “धेरैले सहजै अनुमान लगाउन थालेका छन्, दुई किलोमिटर टाढाबाटै गन्ध आउन थाल्यो भने अब चौधरी ग्रुपको औद्योगिक ग्राम र सिजी धाम आउन थाल्यो भनेर बुझ्दा हुन्छ,” यो भनाइ हो सिजी औद्योगिक ग्रामको वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माको । हुन पनि यो पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जोसुकैले पनि सहजै महसुस गर्न सक्ने विषय भएको छ ।
‘फोहोर र गन्ध’ नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको पहिचान बनेको छ । सिजी आइपीको भुसे ब्वाइलरबाट निस्केको धुलो र खरानीले वातावरण प्रदूषण गरेको छ भने वियर कारखानाबाट निस्केको केमिकल मिश्रित पानीले स्थानीय, पर्यटक र जनावरलाई समेत गम्भीर असर गरिरहेको शर्माले बताउनुभयो ।
शर्माका अनुसार सिजी प्रशासनले नयाँ नबनाई बिग्रेको ब्वाइलरबाट काम चलाउने गरेको र मापदण्ड अनुसार मर्मतसम्भार नगर्दा धुलो, खरानी र केमिकल मिश्रित पानीले असर गरिरहेको हो । सिजीले वाष्पशक्ति निकाल्नका लागि भुसे ब्व्वाइलर (धानको भुस जलाएर निस्किएको धुलो र धुवाँ) सञ्चालन गरेको हुन्छ । उक्त धुलो आँखामा प¥यो भने चिकित्सककहाँ नगई नहुने र कहिलेकाहीँ शल्यक्रिया नै गर्नुपर्ने संयुक्त टोलविकास संस्थाका संयोजक धु्रव न्यौपानेले बताउनुभयो । यी समस्या समाधानका लागि पटक पटक सिजी प्रशासनसँग आग्रह गर्दा पनि समाधान नभएको न्यौपानेको भनाइ छ ।
देवचुली–२ का अध्यक्ष शरदप्रसाद घिमिरेले पनि उद्योगबाट निस्केको प्रदूषण नियन्त्रण गर्न आग्रह गर्दै विनोद चौधरीलाई नै पत्राचार गरेको, पटक पटक भेटेर आग्रह गर्दा पनि समाधान नभएको बताउनुभयो ।
संयुक्त टोलविकास संस्थाका संयोजक न्यौपानेले उद्योगबाट निस्केको धुलोले स्थानीयले लगाएको तरकारी बाली खानै नमिल्ने गरी छोपेको र त्यसको असर दुई किलोमिटरसम्म रहेको बताउनुभयो । “बियर कारखानाबाट उत्पन्न भएको रसायनयुक्त केमिकलसहितको लेदो सिधै उद्योगको छेवैबाट बगेको करदह खोलामा मिसाइएको छ,” न्यौपानेले भन्नुभयो, “गाउँबस्ती हुँदै झन्डै दुई किलोमिटर बगेर नारायणी नदीमा गएर मिसिएको पानीले धेरैको स्वास्थ्यमा असर गरेको छ ।’’
वडा नं. २ का अध्यक्ष घिमिरेले प्लान्ट क्षमताभन्दा कममा भएकाले त्यसले रसायनलाई पूर्ण रूपमा फिल्टर गर्न नसक्दा प्रदूषण ओभरफ्लो भएर खोलामा मिसिएको बताउनुभयो । “अत्यधिक एसिड भएको रसायनयुक्त गन्धले नाकै पोल्ने गर्छ । कतिपयले त्यही पानीलाई सिँचाइका रूपमा प्रयोग गर्ने भएकाले माटोको उर्वराशक्तिमा ह्रास आएको छ,” अध्यक्ष घिमिरेले भन्नुभयो, “आसपासका बासिन्दालाई स्वासप्रश्वासमा समस्या निम्त्याएको छ । यो १६ वर्षदेखिको समस्या हो ।”
सिजी उद्योग अगाडि नै होटेल सञ्चालन गरिरहेका देवप्रसाद दवाडीले आफू नै सबैभन्दा बढी पीडित भएको गुनासो गर्नुभयो । “होटलमा पाहुना आउँछन् तर सेफ्टी ट्याङ्कीभन्दा बढी गन्हाउने दुर्गन्धका कारण उनीहरू खान र बस्नै मान्दैनन्,” दवाडीले गुनासो गर्नुभयो, “एक दिन आउनेलाई त यस्तो हुन्छ, हामी सधैँ कसरी बसेका हौँला ?’’
प्रदूषणले मान्छेलाई मात्र होइन, जनावरलाई समेत असर गरेको संरक्षणकर्मीले बताएका छन् । संरक्षणकर्मी ढुण्डीराज केसीले यसले सबैभन्दा बढी असर दुर्लभ एकसिङे गैँडा र गोहीलाई गरेको बताउनुभयो ।
“पहिले थोरै पानी निस्किँदा यतै सुक्थ्यो तर पछिल्लो केही वर्षदेखि ठुलो मात्रामा पानी नारायणीमा गएर मिसिएको छ । जसले नारायणीमा आश्रित जलचर र थलचर प्राणी मात्र नभएर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका पर्यटक र जनावरलाई असर गरिरहेको छ,” केसीले भन्नुभयो । उहाँका अनुसार करदह खोलाबाट बगेर गएको केमिकल मिश्रित लेदो नारायणी नदीमा गएर मिसिएको छ । एकसिङे गैँडा, घडियाल गोही र मगरगोहीले त्यही पानी पिउने गर्छन् । यसले गैँडाको स्वास्थ्यमा कस्तो असर ग¥यो भन्ने अध्ययन नभए पनि घडियाल गोहीले भने पछिल्लो समय आफ्नो वासस्थान नै परिवर्तन गरेको संरक्षणकर्मी केसीको भनाइ छ ।
केसीको जस्तै सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले पनि प्रदूषणका कारण घडियाल गोहीले आफ्नो वासस्थान नै परिवर्तन गरेको बताउनुभयो । “घडियाल सफा पानीमा बस्ने र माछा खाने जलचर प्राणी हो तर खोलामा लेदोसहितको पानी बगेपछि उसले वासस्थान बदलिरहेको छ । केमिकलसहितको पानी खाँदा गैँडाको स्वास्थ्यमा कति असर गरिरहेको होला ? अध्ययन कसले गर्ने ?’’ उहाँले प्रश्न गर्नुभयो ।
उद्योगका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले स्थानीय र सरोकारवालाले पटक पटक गरेको आग्रहबाट उद्योगको ध्यानाकर्षण भएको बताउनुभएको छ । गोरखापत्रसँग कुरा गर्दै सिटौलाले आगामी पुस १५ गतेदेखि पूर्ण रूपमा ठुलो ब्वायलर (सिपिपी) प्लान्ट बन्द गरी मर्मत गरिने बताउनुभयो । १० टन क्षमताको सानो ब्वायलरमा पनि ब्याग फिल्टर जडान गरी सञ्चालन गरिने सिटौलाको भनाइ छ ।