• २० कात्तिक २०८२, बिहिबार

दाङमा मतदाता सङ्कलनमा उत्साह देखिएन

blog

प्रदेश निर्वाचन कार्यालय, घोराहीमा मतदाता नामावली दर्ताका लागि फोटो खिचाउँदै नयाँ मतदाता । तस्बिर : सन्तोष दहित ।

सन्तोष दहित

दाङ, कात्तिक २० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले नयाँ मतदाता नामावली दर्ता र अद्यावधिकको काम सुरु गरे पनि दाङमा मतदाता दर्ता गर्न नागरिकमा खासै उत्साह देखिएको छैन ।

 गत असोज १२ गतेदेखि सुरु गरिएको दर्ता तथा अद्यावधिक अभियानको एक महिनाभित्र हालसम्म जम्मा एक हजार पाँच सय १४ जना नयाँ मतदाता मात्र थपिएका छन् । 

अघिल्ला चुनावका तुलनामा यस पटक मतदाता दर्ता तथा अद्यावधिक गर्नेको सङ्ख्या निकै कम प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।

 “यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनको तयारीका बेला दैनिक कम्तिमा पनि पाँचसय भन्दा माथिसम्म नागरिकले नामावली दर्ता गराउनुहुन्थ्यो, उहाँले भन्नुभयो, तर अहिले एक महिनामा जम्मा करिब डेढ हजारले मात्र दर्ता गराएका छन् ।” “जिल्ला प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भिड छ, तर मतदाता बन्नेमा त्यस्तो चासो छैन,” सूचना अधिकारी कँवरले थप्नुभयो, “५० हजार नागरिकता बनाएका मध्ये करिब २ हजारले मात्र मतदाता बनाका छन् ।”

राजनीतिक दलहरू पनि यसपालि मतदाता दर्ता अभियानमा सक्रिय नभएका कारण दर्ता हुनेको सङ्ख्या कम देखिएको उहाँले बताउनुभयो ।

“पहिले दलका प्रतिनिधिहरू गाउँगाउँबाट नागरिकलाई मतदाता नामावली दर्ताका लागि ल्याउनुहुन्थ्यो, उहाँले भन्नुभयो, अहिले त्यस्तो देखिँदैन ।”

प्रचारप्रसारको कमीले पनि मतदाता नामावली अद्यावधिकको काम सुस्त भएको उहाँको बुझाइ छ । यद्यपि, कात्तिक ३० गतेसम्म दर्ता र अद्यावधिकको समय रहेकाले अन्तिम समयमा थप मतदाता दर्ता हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्म दर्ता भएका नयाँ मतदातामध्ये ५३१ जना महिला र ९८३ जना पुरुष छन् । नयाँ मतदाता बनाउनेमा जेनजी पुस्ता समुहको धेरै भएको उहाँले बताउनुभयो । यस्तै यसै अवधिमा १८३ जनाले नामसारी गरेका छन् भने ८६ जनाले मतदाता नामावलीमा त्रुटि सच्याएका छन् ।

दाङमा हाल तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । अहिले कुल मतदाता सङ्ख्या चार लाख १६ हजार ३५ पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीमध्ये दुई लाख ११ हजार ७१६ महिला, दुई लाख पाँच हजार १७ पुरुष र अन्य २ जना मतदाता रहेका छन् ।

केही नागरिकले अनलाइनमार्फत अग्रिम फारम भरेका भए पनि बायोमेट्रिक प्रक्रिया पूरा गर्न कार्यालयमा नआएकाले उहाँहरूको दर्ता प्रक्रिया सम्पन्न हुन बाँकी रहेको कार्यालयका सूचना अधिकारी कँवरले जानकारी दिनुभयो ।