• ९ पुस २०८१, मङ्गलबार

घोडाघोडी ताल प्रवेश शुल्कबाट आठ लाख बढी सङ्कलन

blog

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको १५ औं चुनावी सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख खडकबहादुर रावत । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर १५ गते । जैविक विविधताले महत्त्वपूर्ण तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालको पर्यटक प्रवेश शुल्कबाट वार्षिक आठ लाख १६ हजार ६२२ रुपियाँ उठेको छ । 

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको १५ औ चुनावी साधरण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–८१ मा सो रकम उठेको उल्लेख गरिएको छ । 

प्रतिवेदन २०७९–८० मा प्रवेश शुल्कबाट पाँच लाख ५० हजार ४५० रुपियाँ आम्दानी भएको उल्लेख छ । घोडाघोडीका नगरप्रमुख खडकबहादुर रावतले मञ्च घोडाघोडीको पुरानो संस्था रहेकाले घोडाघोडी ताललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन उल्लेख्य भूमिका रहेको बताउनुभयो ।

कोषाध्यक्ष गङ्गादेवी सुनारले आर्थिक वर्ष २०८०–८१ को १५ लाख ४७ हजार २०८ रुपियाँको आयव्यय प्रस्तुत गर्नुभएको थियो । मञ्चका सचिव हरिलाल सापकोटाले घोडाघोडी तालको संरक्षणका लागि २०५६ सालमा स्थापना भएको संस्थाको मुख्य उद्देश्य वातावरण संरक्षण रहेकाले सोहीअनुरूप कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो । 

उहाँले घोडाघोडीको आम्दानीलाई संरक्षणकै लागि खर्च गरिएको र अन्य निकायको सहयोगमा कार्यक्रम गर्दैआएको उल्लेख गर्नुभयो । सचिव सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिको ११ वटा बैठक बस्दै १९ वटा सामुदायिक वनसँग अन्तरक्रिया, १७ वटा सामुदायिक विद्यालयमा इको क्लब गठनका साथै सोही विद्यालय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो ।

उहाँले डिभिजन वन तथा स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन हुँदै आएको जनाउनुभयो । मञ्चका अध्यक्ष हेमबहादुर बमले घोडाघोडी ताललाई विश्व रामसार साइडमा सूचीकृत गराउन संस्थाले भूमिका खेलेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मञ्चको पहलमा सन् २००३ अगस्ट १३ मा घोडाघोडी ताललाई रामसारमा सूचीकृत गरिएको हो ।” साबिकको दरख, साँडेपानी र रामशिखरझाला हालको घोडाघोडी नगरपालिका वडा १, ३, ४ र ८ सीमासँग जोडिएको जैविक मार्ग, सिमसार क्षेत्रको संरक्षणमा निरन्तर संस्थाले काम गर्दै अगाडि बढेको छ । 

घोडाघोडी ताल क्षेत्रमा रहेका ४५० प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, ३८२ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोङ्घी, ७ प्रजातिका घस्रने जन्तुको संरक्षणसँगै पर्यटन विकासमा मञ्चले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको अध्यक्ष बमले जनाउनुभयो । मञ्चको चुनावी सभाबाट नयाँ नेतृत्व चयन हुने भएको छ । ८६ जना साधारण सदस्य रहेको मञ्चमा १३ सदस्यीय नयाँ कार्यसमिति बन्ने जनाइएको छ ।