• १० माघ २०८१, बिहिबार

‘सांसदलाई सवाल’

कानुन बनाउँछु भन्ने मान्छेले चुनाव जित्दैनन् : सांसद पाण्डे

blog

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल कमयुनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले कानुन मात्र बनाउँछु भन्ने उम्मेदवारले चुनाव नजित्ने बताउनुभएको छ ।

गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँ वि.सं. २०४८ देखि २०७९ सालसम्म ६ पटक सांसद बनिसक्नुभएको छ । बुवा नेत्रराज र मनमाया पाण्डेका सुपुत्र पाण्डे नेपालको संसदीय अभ्यासमा धेरै पटक निर्वाचित नेतामध्ये एक हुनुहुन्छ । धादिङको छेपाङमा २०१३ साल जेठ २९ गते जन्मनु भएका पाण्डे काठमाडौँ महानगरपालिका-१५ आनन्दनगरमा बसोबास गर्नुहुन्छ । 

२०३२ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर पाण्डे औपचारिक रुपमा राजनीतिमा प्रवेश गर्नुभएको हो । पञ्चायतपछि अहिलेसम्म उहाँ १९ पटक जेल पर्नुभएको छ । उहाँसँग साढे ६ वर्ष कठोर जेल सजाय भोग्नुपरेको अनुभवसमेत छ । पञ्चायतविरुद्ध जनपक्षीय उम्मेदवार भएर २०४३ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बन्नुभएका पाण्डे २०४४ सालमा जिल्ला पञ्चायत धादिङको जनपक्षीय सभापति निर्वाचित हुनुभयो ।

२०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि उहाँ २०४८, २०५१ र २०५६ सामा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो । २०६४ को निर्वाचनमा धादिङबाट पराजित हुनुभएका पाण्डे २०७० को संविधान सभा सदस्य निर्वाचनमा विजयी हुनुभयो । चार पटक प्रतिनिधि सभा सदस्य बन्नुभएका पाण्डे संविधान सभाबाट संविधान जारी भएपछि पहिलो पटक २०७४ सालमा भएको बागमतीको प्रदेश सभा सदस्य बन्नुभयो । उहाँ प्रदेश सभामा निर्वाचित मात्र हुनुभएन २०७८ सालमा बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभयो । उहाँले मुख्यमन्त्री बन्दा प्रदेशको विकासमा केही महत्त्वपूर्ण योजनासमेत अगाडि बढाउनुभयो । 

पछिल्लो पटक २०७९ सालमा धादिङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य पाण्डे अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य हुनुहुन्छ । ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका पाण्डे स्थानीय तह तथा संघीयता सम्बन्धी विज्ञ हुनुहुन्छ । एसिया, अस्ट्रेलिया, अमेरिका र यूरोपका विभिन्न देश भ्रमण गर्नुभएका पाण्डेले ‘चीन भ्रमणः एक अनुभव अनेक’ पुस्तकसमेत प्रकाशनमा ल्याउनुभएको छ । 

प्रस्तुत छ– ‘सांसदलाई सवाल’मा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेसँगकाे कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले तयार गर्नुभएको भिडियो सामग्री :