• १३ मंसिर २०८१, बिहिबार

कीर्तिपुरको चुनावी सरगर्मी,खानेपानीको समस्या मुख्य मुद्दा

blog

कीर्तिपुर (काठमाडौँ), मङ्सिर १३ गते । कीर्तिपुरमा विसं २०५१ को मध्यावधि निर्वाचनमा खानेपानी समस्या प्रमुख मुद्दा बन्यो । त्यसपछिका प्रत्येक स्थानीय निर्वाचनमा पनि खानेपानी समस्या प्रमुख मुद्दा बन्दै आयो । ३० वर्षपछि पनि यो समस्या समाधान हुन सकेको छैन । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि खानेपानीकै समस्या प्रमुख मुद्दा बनेको छ । जसलाई मत दिए पनि केही उपलब्धि नदेखिएको नैराश्यता व्यक्त गर्दै कीर्तिपुर नगरपालिका–३ का सानुबाबु महर्जन भन्नुहुन्छ, “स्वतन्त्र उम्मेदवार पनि छन् तर मुख्य प्रतिस्पर्धा दलहरूबिच नै हुने देखिन्छ ।” 

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आइतबार मतदान हुँदै छ । ४१ पदका लागि मतदान हुने भए पनि राजधानी सहरसमेत रहेको काठमाडौँ जिल्ला अन्तर्गतको कीर्तिपुर नगरपालिका र काठमाडौँ–१६ को निर्वाचन चासोको विषय बनेको छ । कीर्तिपुर नगरपालिकामा प्रमुख तथा वडा नं. १ र ४ का अध्यक्ष पदका लागि मतदान हुँदै छ ।  कीर्तिपुर नयाँ बजारका नरेन्द्र महर्जनले मेलम्चीको पानी आपूर्तिले खानेपानीको समस्या केही हदसम्म सम्बोधन भएको बताउनुभयो । उहाँका अनुसार केही महिनाअघिसम्म हप्तामा १५ देखि २० मिनेटसम्म दुई पटक आपूर्ति हुने पानी हाल दैनिक एकदेखि दुई घण्टासम्म आउँछ । 

हुन त कीर्तिपुरवासीले बर्सौंदेखि झेल्दै आएको खानेपानीको समस्या आफैँले समाधान गर्ने प्रयत्न नगरेका होइनन् । २०५० को दशकमा सिम झ्वा हिटीबाट कुलो खनेर नयाँ बजारसम्म पानी ल्याए तर दिगो भएन । सो परियोजनाका लागि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले २० लाख रुपियाँ सहयोग उपलब्ध गराएको थियो । 

नेवार समुदायको बाहुल्य रहेको कीर्तिपुर नगरपालिकामा दस वटा वडा छन् । करिब एक लाख व्यक्ति बसोबास गर्ने यस पालिकामा ७४ हजार स्थानीय बासिन्दा र ३१ हजार १०९ मतदाता छन् । कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि पालिका प्रमुखका लागि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो । 

काठमाडौँ महानगरपालिकासँग जोडिएको कीर्तिपुर नगरपालिकाको मुख्य बाटो फराकिलो छैन । बाटोको अवस्था दयनीय छ । फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन ।

नगरप्रमुख पदका लागि नौ जना दलका र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार रहेका छन् । अधिकांश उम्मेदवारले खानेपानीको सहज आपूर्ति, फोहोरमैला व्यवस्थापन, सामुदायिक विद्यालयको पठनपाठनलाई स्तरीय बनाउने र जीर्ण बाटोलाई चिल्लो बनाउने चुनावी नारा लगाएका छन् ।  कीर्तिपुर–१० का मदन श्रेष्ठ भने आफू बस्दै आएको जग्गाको लालपुर्जा नरहेकोमा चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “घडेरीको लालपुर्जा नहुने म मात्रै होइन, थुप्रै व्यक्ति छन् । बर्सौंदेखि राजनीतिक मुद्दा बन्दै आएको छ तर अझै समाधान भएको छैन ।”

देशकै सबैभन्दा जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नगरपालिकाभित्रै पर्छ । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानसमेत कीर्तिपुरभित्र नै छ । खेल र शैक्षिक पर्यटनसँगै नेवा संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन गर्न सकिने प्रचुर सम्भावना रहेको स्थानीय नरेन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयको शिक्षाको स्तर खस्किँदा कीर्तिपुर पढ्न आउने विद्यार्थीको सङ्ख्यासमेत पहिलेको भन्दा पातलिएको छ ।

नगरपालिकाको प्रमुख पदका प्रत्याशीले यी सबै समस्या समाधानका लागि आफू उम्मेदवार बनेको दाबी गरेका छन् । पालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल,  नेकपा (एमाले) का सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का प्राडा शिवशरण महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जन, जनता समाजवादी पार्टी, नेपालका दीपक महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको छ । 

त्यसै गरी राजमान महर्जन, नवरथकुमार बानियाँ, रामकृष्ण महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कीर्तिपुरको प्रमुख पदमा २० जना उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना पनि छैनन् । 

कृष्णमान डङ्गोल

प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेस 

कीर्तिपुर समृद्ध सहर हो । व्यवस्थापन राम्ररी हुन सकेको छैन । विगतका प्रमुखले सक्दो प्रयास गर्नुभयो । आफू बिरामी हुँदाहुँदै नगरपालिकाको काममा सधैँ दत्तचित्त भएर लाग्नुभयो । बाँकी रहेको कामलाई निरन्तरता दिँदै बाँकी योजना ल्याउनु पर्छ ।  व्यवस्थित गरे नगरभित्रैको स्रोतले पानीको अभाव टार्न सकिन्छ ।  

सुरेन्द्र मानन्धर

प्रमुख पदका उम्मेदवार नेकपा (एमाले) 

नगरपालिकामा नेतृत्वको अभाव देखियो । सबल, सक्षम र समन्वय गर्नसक्ने नेतृत्वको आवश्यकता छ । जनप्रतिनिधिसँग समन्वय गर्दै अगाडि बढ्ने नेतृत्व चाहिएको छ । यसले मात्रै नगरपालिकालाई समृद्धितिर लग्न सकिन्छ । कीर्तिपुरमै खानेपानीको मुहान हुँदाहुँदै बर्सौंदेखि पानीको समस्या छ । यसलाई  निराकरण गर्न जरुरी छ ।  

प्राडा शिवशरण महर्जन

प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) 

भ्रष्टाचारले सबैतिर गिजोलेको छ । भ्रष्टाचारमुक्त नगर बनाएर सुशासन कायम गर्नु जरुरी छ । बाटो अव्यवस्थित छ । पानीको समानुपातिक वितरण छैन । सामुदायिक विद्यालयमा पठनपाठनको अवस्था दयनीय छ । नगरपालिकाको कामकाज व्यवस्थित भएपछि विकास निर्माण स्वतः हुँदै जाने हो । खानेपानी, यातायातलगायतका समस्या समाधान गर्ने नेतृत्व चाहिएको छ  । 

 राजमान महर्जन

प्रमुख पदका उम्मेदवार स्वतन्त्र

जनताको नैराश्यतालाई आशामा परिणत गर्नु पर्छ । हामीले समस्याको पहिचान गरेका छौँ । समाधानका उपायसमेत केलाएका छौँ । कीर्तिपुर विगतमा फोहोरमैला थुपार्ने ठाउँ थियो । अब यसलाई अझै बढी सफासुग्घर र सुन्दर नगर बनाउन केन्द्रित हुनु पर्छ ।