• २३ पुस २०८१, मङ्गलबार

झापामा गोरक्षा महोत्सवमा तयारी भइरहँदा गौहत्या भएपछि धार्मिक अगुवा आन्दोलित

blog

गौ हत्याको विरोधमा जुटेका धर्मगुरु।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १२ गते। झापाको शिवसताक्षी नगरपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सवको तयारी भइरहँदा गौहत्या हुनु दुर्भाग्य भएको गौ संरक्षण अभियन्ता तथा शताक्षीधाम गोलोक गोवर्धन गौशालाका संस्थापक तथा संरक्षक आचार्य पं. नन्दकिशोर भारद्धाजले बताउनुभएको छ।

शिवसताक्षी नगरपालिकासँग जोडिएको कन्काई नगरपालिकामा मंगलबार लैनो गाई मारिएको छ। आगामी मङ्सिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव सहितको महायज्ञको प्रचारप्रसार तीव्र बनाइरहेको समयमा गौहत्या भएको हो। ‘हामी गोरक्षाका लागि लागि परेको समयमा नियोजित रूपमा गाई मारिएको छ’, उहाँले भन्नुभयो।

अहिले पनि गौरक्षा अभियान सञ्चालनको क्रममा सताक्षीधाममा रहेको गौशालामा ६६२ वटा गाई र तिनका बाछाबाछी रहेको बताइएको छ। स्थानीयलाई आयआर्जनमा जोड्नका लागि अति विपन्न किसानलाई गौसेवाका लागि निःशुल्क रूपमा २१६० वटा गाई उपलब्ध गराएको भारद्वाजले जनाउनुभयो।

यसभन्दा अघि पनि दमकमा गौहत्या भएपछि चौतर्फी विरोध भएको थियो। गोरक्षाको आवश्यकता र महत्त्वको विषयमा छलफल चलाइरहँदा गौहत्या हुनुलाई गम्भीर रूपमा लिइनु पर्ने उहाँले बताउनुभयो। भारद्वाज सहितको टोली घटनास्थल पुगेर उक्त घटनाको विरोध गर्दै र्‍याली समेत निकालेको थियो।

कन्काई नगरपालिका-३ टप्पुवस्तीमा गौहत्या भएको हो। गौहत्या भएको घटना सार्वजनिक भएपछि धार्मिक अगुवाले गौहत्यामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही नगरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

कन्काई–३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेको अभियोगमा स्थानीय लीला सङ्ग्रौलाको घरमा डेरा लिएर ज्याला मजदुरी गर्ने बाह्रदशी वडा नं. ४ का ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।