• २४ पुस २०८१, बुधबार

तानसेनलाई मध्ययुगीन सहर बनाउन प्रज्ञा प्रतिष्ठानको गठन

blog

बिन्दु थापा 

पाल्पा, मङ्सिर १२ गते । तानसेन नगरपालिकाभित्र रहेको कला र संस्कृतिको संरक्षण गर्दै तानसेनलाई मध्ययुगीन सहरको रुपमा विकास गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । 

प्रज्ञा प्रतिष्ठानको बुधवार एक कार्यक्रमका बिच पदस्थापना भएको छ । तानसेन नगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाको कला तथा जात्रा र कुटीर उद्योगको विकास गर्न तानसेन प्रज्ञा प्रतिस्ठान को स्थापना गरिएको बताउनुभयो । श्रेष्ठले आगामी दिनमा नविनतम कार्यक्रम गर्दै तानसेनला विश्वमा परिचित गर्ने उद्देश्यले स्थापना गरिएको प्रज्ञा प्रतिष्ठानलाई रैथाने भाषा कला संस्कृतिको विकास गरी सभ्य समाजको रुपमा विकसित गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । 

पदस्थापन कार्यक्रममा उपप्रमुख प्रतीक्षा गाहा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्मा, कार्यपालिका सदस्य सविता भट्टराई, योजना शाखा प्रमुख दुर्गा थापा, प्रतिष्ठानका सदस्य धनकला गाहालगायतले बोल्दै तानसेन धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको र यसलाई जीवन्त राख्नुपर्ने दायित्व नगर सरकारको भएकाले तानसेन नगरपालिकाभित्रका भाषा, कला ,साहित्य, संस्कृति संरक्षण संवर्द्धन गर्दै यहाँका मौलिक सिर्जना र प्रतिभालाई उजागर गर्न सामाजिक शास्त्रको अनुसन्धानबाट प्रभावकारी हुने भएकाले नगर प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो। 

तानसेन नगरपालिकाको १५ औँ नगर सभाले पारित गरेको ऐन अनुसार एक उपकुलपतिसहित १६ जना सदस्य रहेको प्रज्ञा प्रतिष्ठान गठन भएको हो । यहाँका कला र संस्कृतिको संरक्षण गर्दै काम गर्ने योजना बनाएको नगर सरकारले प्रज्ञा प्रतिष्ठानलाई यो वर्षको लागि १५ लाख बजेट विनियोजन गरेको छ ।