• २३ पुस २०८१, मङ्गलबार

दुई प्रदेश जोड्ने झोलुङ्गे पुल

blog

रामपुर समाचारदाता

रामपुर (पाल्पा), मङ्सिर १२ गते । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, रिपाहा र नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने १७५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । 

सङ्घीय सरकारमार्फत निर्माण भएको पुलको उट्घाटन गर्दै लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले दुई प्रदेशको सम्बन्धलाई सुमधुर बनाउनुका साथै यहाँको आर्थिक समृद्धिमा पुलले थप टेवा दिने बताउनुभयो । रिपाहाघाट वरपर रहेका स्थानीयको समस्यालाई ध्यानमा राखी पुल निर्माण गरिएको बताउनुभयो । पुलको निर्माणले निस्दी र मध्यविन्दुका जनतालाई आवतजावत गर्न सहज हुनुका साथै अरुणखोला वारिपारि रहेका खेतीयोग्य जमिनको सदुपयोगमा टेवा पुग्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताउनुभयो । पुल निर्माणले निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यविन्दुको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका  उपभोक्तालाई सहज हुने निस्दी–४ का वडाध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुरले पुल निर्माणका लागि भ्याटसहित एक करोड ८४ लाख ८९ हजार ३१६ रुपियाँमा ठेक्का आह्वान गरेको थियो । निर्माण कम्पनी तामाकोशी जेके जेभीले २०८१ कात्तिकमा सम्पन्न गर्ने गरी एक करोड ३७ लाख ६७ हजार ९२० रुपियाँमा सम्झौता गरी पुल निर्माण गरेको हो ।