कविराज घिमिरे
हिले, असार २९ गते । धनकुटा नगरपालिका ९ छिम्सुवामा अहिले जताततै आँपैआँपले ढाकेको छ । कोशी राजमार्गको मूलघाटवाट तमोर नदीसँगै समानान्तर हुँदै करिब एक किलोमिटर पश्चिमतर्फको यात्रापछि छिम्सुवा पुग्न सकिन्छ ।
गाउँ नजिकै पुग्नासाथ आँपको बास्नाले जो कोहीलाई मोहित पार्छ । छिम्सुवाका प्रत्येक घर वरिपरि तथा खेतबारी क्षेत्र आँपै आँपले ढाकेको छ । यो सिजनमा यो गाउँ पुग्दा कोही आँप टिप्न व्यस्त देखिन्छन् त कोही आँप बिक्री गर्न व्यस्त हुन्छन् । यो बेला छिम्सुवाबासीले आँप बेचेर वर्षभरिको लागि खर्चको जोहो गर्नुपर्ने हुन्छ ।
स्थानीय बद्री कार्कीका अनुसार अब आँप यो सिजनको अन्तिम टिपाइको क्रममा छ । उहाँ करिब ३० रोपनी क्षेत्रफलमा लगाएको आँप बिक्री गरिसकेको बताउनुहुन्छ । २५० बोट आँपबाट चार लाखभन्दा बढीको बिक्री गरिएको उहाँको भनाइ छ । असार पहिलो हप्ताबाट यहाँ आँपको उत्पादन सुरु हुन्छ र लगभग साउन पहिलो हप्तासम्म जारी रहन्छ । पहिलेदेखि नै यो स्थानमा आँप उत्पादन हुने भए पनि मूलघाट त्रिवेणी सडक निर्माण भएपछि मात्र यहाँका स्थानीय आँप व्यवसायसँग जोडिएका हुन् ।
छिम्सुवा गाउँका स्थानीयवासीको मुख्य पेसा नै आँपखेती हो । जिल्लामा हुने कुल आँप उत्पादनमध्ये पचास प्रतिशतभन्दा बढी आँप यही स्थानमा उत्पादन हुने गरेको छ । छिम्सुवामा करिब ६४ हेक्टर जमिन छ । ६४ मध्ये ४५ हेक्टरभन्दा बढी क्षेत्रमा यहाँ आँपको खेती मात्रै छ । जिल्लामा कुल ८१ हेक्टर क्षेत्रफलमा आँपखेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
धनकुटामा वार्षिक ५ सय २२ मेट्रिकटन आँप उत्पादन हुने गरेकोमा ६० प्रतिशतभन्दा बढी यही क्षेत्रको रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो । यही गाउँले मात्र वार्षिक डेढ करोडभन्दा बढीका आँप बिक्री गर्ने गरेको छ ।
छिम्सुवामा करिब ४० परिवारको बसोबास छ । यहाँ स्थानीय मात्र नभई धनकुटा बजार, मार्गा बेलहरालगायतका स्थानका कृषकको समेत आँप बगैँचा र छ । राष्ट्रिय राजमार्गको नजिक फाँटिलो क्षेत्र तथा दिगो आम्दानीको स्रोत भएकाले यहाँका कृषक आँप खेतीतर्फ आकर्षित भएको स्थानीय किशोर भण्डारी बताउनुहुन्छ । “अरू के लगाउनु र सबै बगर मात्र छ अरू खेतीको भर हुँदैन त्यसैले आँप लगाएका हौं,” भण्डारी भन्नुहुन्छ । पानीको समस्या जङ्गली जनावर आतङ्कले अरू बाली खासै हुँदैन त्यसैले आँपखेती पहिलेदेखि नै गरिँदै आएको छ भण्डारी थप्नुहुन्छ ।
धनकुटामा छिम्सुवाबाहेक तमोर र अरुण नदी किनारमा रहेका फमामेटार, साप्तीङटार, सपाइधाप, चानुवा, दमारलगायतका क्षेत्रमा आँपखेती हुने गरेको छ ।
जिल्लामा मालदह, कलकत्तिया बम्बईलगायत आँपको खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कअनुसार धनकुटामा गत वर्ष ८५ हेक्टर क्षेत्रफलमा आँपखेती लगाइएको छ । तर उत्पादन भने ८१ हेक्टर क्षेफलवाट मात्रै हुँदै आएको छ । यहाँ उत्पादन भएको आँप धनकुटामा मात्र नभई तराइका बजारसम्म पुग्ने गरेको छ ।