काठमाडौँ, असार २९ गते । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।
सरकारले आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताउनुभयो । उहाँले कुनै मानव अङ्ग मात्रै पनि फेला परेको बताउनुभयो । अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ ।
स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताउनुभयो । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिङ्गो सवारीहरू बगेको बताउनुभयो । २ वटा पुल पूर्णरूपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताउनुभयो । स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक धेरै ठाउँमा क्षति भएको बताउनुभयो । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्णरूपमा क्षति भएको बताउनुभयो । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ । क्षतिको कुरा गर्दा अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अङ्ग भेटिएका छन् । बेपत्ता १७ जना छ । घाइते एक जना । सुरक्षाकर्मी परिचालित कुल १ हजार ९ सय ५० छन् । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको छ । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिङ्गो गाडी बगेका थिए । २ वटा पुल क्षति भएका छन् । एउटा पुलमा आंशिक क्षति पुगेको छ । १६ किलोमिटर सडक स्याँफ्रुबेसीबाट टिमुरेसम्म जाने सडकको धेरै ठाउँमा क्षति छ ।
१२ सय मिटर जित ठाउँ ठाउँ गरेर पूर्ण क्षति भएको देखिन्छ । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० को धेरै क्षति छ । अरूमा पनि क्षति छ ।’ बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा—चीनको आवतजावत पूर्णरूपमा बन्द भएको बताउनुभयो ।