• २३ पुस २०८१, मङ्गलबार

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुभारम्भ गर्नहुँदै  ।

देउखुरी समाचारदाता 

देउखुरी, मङ्सिर १२ गते । लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । 

लुम्बिनी प्रदेशलाई हिंसामुक्त प्रदेश बनाउन आधारभूत वर्गका नागरिकको बिचमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गर्नुभएको छ । सबै प्रकारका हिंसाविरुद्धका अभियान चलाउन सरकार प्रतिबद्ध छ । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन गरेर सरकार अघि बढेको छ । हिंसा पनि नगर्ने, हिंसा पनि नसहने समाज बनाउन जरुरी छ । यसका लागि जनचेतना अभिवृद्धि नै पहिलो आधार हो ।” अभियानका क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम गरिने छन् । लुम्बिनी प्रदेशमा बालविवाह, केही सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताका कारणले पनि हिंसा बढेको देखिए पनि हिंसा न्यूनीकरणका लागि साझा प्रयास थालिएको छ । 

सामाजिक न्याय र समतामा आधारित लैङ्गिक समानतायुक्त प्रदेश बनाउन सरकारले काम गरिरहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । लैङ्गिक हिंसा अन्त्यका लागि सबैको साझा ऐक्यबद्धताको खाँचो समेत उहाँले औँल्याउनुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “संविधानले सबैखाले विभेदको अन्त्य गरेको छ । त्यही मूल मर्म अनुसार कसैमाथि कुनै प्रकारको हिंसा हुन्छ भने त्यो दण्डनीय ठहरिन्छ । सामाजिक रूपान्तरण, सशक्तीकरण र हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा ऐक्यबद्धता आवश्यक छ ।”

सामाजिक विकास मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको औपचारिक समारोह आयोजना गरेर अभियान सञ्चालन भएको घोषणा गरेको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । यस वर्ष ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ मुख्य राष्ट्रिय नारासहित दिवस मनाउन थालिएको हो । 

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सुधारिएको समाज निर्माण नहुँदासम्म हिंसाविरुद्धको अभियान निरन्तर चलिरहने बताउनुभयो । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा गत आर्थिक वर्षमा ७१९ वटा विभिन्न लैङ्गिक हिंसाका मुद्दा दर्ता भएका छन् । जसमध्ये ६६८ मुद्दा फस्र्योट भएका छन् । ८१ वटा मुद्दा फस्र्योट हुन बाँकी देखिन्छ । जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुविवाह, बालविवाह, बोक्सी आरोप, जातीय छुवाछुत, गर्भपतन, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन, मानव बेचबिखन जस्ता मुद्दा दर्ता भएका छन् ।