• १२ मंसिर २०८१, बुधबार

उद्योग बन्द हुँदै गएकोमा चिन्ता

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर १२ गते । रुकुमपश्चिमका व्यवसायीले साना तथा मझौला खालका उद्योग बन्द हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । १० औँ उद्योग दिवसका अवसरमा मुसीकोटमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आयोजनामा गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीले उद्योग नियमित सञ्चालनको माग समेत गरेका छन् । कार्यक्रममा रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले कुनै समय जिल्लामा साना तथा मझौला उद्योग खोल्ने लहर चलेको तर अहिले सञ्चालन हुन नसकेर बन्द अवस्थामा रहेको बताउनुभयो। 

उहाँले व्यक्तिगत तथा सरकारी अनुदानमा सञ्चालन गरिएका उद्योग लामो समय टिक्न नसक्नुले लगानी खेर गइरहेको जनाउनुभयो । सरकारको लगानीमा खोलिएका उद्योगसमेत लथालिङ्ग भएको र व्यक्तिगत लगानीका साना उद्योग बन्द भएको उहाँको भनाइ छ । 

व्यवसायीहरूले आवश्यकता र मागको आधारमा भन्दा पनि पहुँचका भरमा उद्योगका लागि गरिएको लगानी खेर गएको उल्लेख गरेका छन् । जिल्ला सदरमुकाम तथा गाउँमा रहेका सबैजसो उद्योग सञ्चालन हुन नसक्नुका कारण खोजेर उद्योगलाई सञ्चालन गर्नुपर्ने व्यवसायीको माग रहेको छ।