काठमाडौँ, मङ्सिर १२ गते । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध, अवैध मुद्रा कारोबार (हुन्डी कारोबार) लगायतका कसुरमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको संसदीय छानबिन समितिको रिपोर्ट र पीडितहरूको जाहेरीपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि जिल्ला अदालत कास्कीबाट कात्तिक २ गते पक्राउ पुर्जी जारी भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ गरी कास्की लगेको थियो । सोही सहकारीको रकम हिनामिनामा गोर्खा मिडियाका निर्देशकद्वय पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल बन्जाडे जोशी र कुमार रम्तेललगायतमाथि कास्की, रुपन्देही र काठमाडौँ प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।
सहकारीको रकम हिनामिनामा बागलुङस्थित ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, राप्रपा नेतृ तथा सांसद गीता बस्नेत, नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव (निलम्बित) टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतका आरोपी पुर्पक्षका लागि कारागारमै हुनुहुन्छ ।
काठमाडौँको गोङ्गबुस्थित शान्तिमाया घलानको खाजा पसलमा काम गर्ने सीतापाइलाका एक युवकलाई आर्थिक प्रलोभनमा मानव अङ्ग तस्करी गर्ने एक गिरोहले २०८० जेठ दोस्रो साता काठमाडाैँबाट वीरगन्ज, रक्सौल नाका हुँदै भारतको कोलकाताको आमरी अस्पताल लगेर मिर्गौला नै झिकिदियो । घरमा श्रीमती र छोरी सिकिस्त बिरामी भई उपचारका लागि आर्थिक जोहोमा जुटेका ती युवकलाई खाजा पसलकै साहुनी घलानले सजिलै मानव अङ्ग तस्करी गर्ने सङ्गठित गिरोहको सम्पर्कमा पुर्याइन् ।
घलानसँगै गिरोहका मुख्य योजनाकार काठमाडौँका कृष्ण श्रेष्ठ, जनकपुरका अमन शाह र चन्द्रागिरिका नारान परियारसहित १० जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । सङ्गठित गिरोहमार्फत नेपालबाट अमेरिका, क्यानडामा बसोबास गर्नेलाई ठगी गर्ने पृथ्वीबहादुर सिंह, अमेरिका, क्यानडा पठाउने भनी ठगी गर्ने कमल तामाङसहित १२ जना मात्र होइन, बिमाबापतको रकम हत्याउनकै लागि आफ्नै २१ वर्षीय पति सर्जन विकको हत्या गर्न आपराधिक समूह प्रयोग गरेकी बाँके कोहलपुरकी सपना मल्ल पनि यतिबेला कारागारमै छन् । यी केही प्रतिनिधि घटना मात्र हुन् ।
पछिल्लो समय परम्परागत अपराधहरू हत्या, अपहरण तथा शरीर बन्धक, चोरी डकैतीका घटनाभन्दा प्रविधिको प्रयोगमार्फत सङ्गठित रूपमा अपराधका घटना वृद्धि हुँदै गएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा यस्ता अपराधका घटना झन्डै पाँच गुणाले वृद्धि भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न ११ वटा सङ्गठित अपराधका घटनामा संलग्न १२२ जनामध्ये ८४ जना पक्राउ परेका थिए ।
आव २०७६/७७ मा २६ घटनामा संलग्न २१४ जनामध्ये ९९ जना पक्राउ परेका छन् । आव २०७७/७८ मा २८ वटा घटनामा संलग्न २४५ मध्ये ९३ जना पक्राउ परेका छन् । आव २०७८/७९ मा १७ वटा घटनामा २२२ मध्ये ६६ जना, आव २०७९/८० मा ३१ घटनामा संलग्न २९८ मध्ये १४१ जना पक्राउ परेका छन् । त्यस्तै आव २०८०/०८१ मा ५१ वटा घटनामा ५४५ मध्ये २०२ जना पक्राउ परेका छन् । चालु आवको पाँच महिनामा मात्र विभिन्न ३९ वटा सङ्गठित अपराधका घटनामा संलग्न १२६ मध्ये ९३ जना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ पछिल्लो समय आर्थिक अपराध र साइबर क्राइमका घटना वृद्धि भएको र यस्ता घटनामा सङ्गठित गिरोहकै संलग्नता देखिने गरेको बताउनुहुन्छ । सङ्गठित गिरोहको प्रयोग गरी आफ्नो प्रभाव बढाउन पनि विभिन्न अपराधका घटना हुने गरेको छ ।
सङ्गठित अपराधका घटनामा प्रभावकारी अनुसन्धानका लागि प्रविधि र दक्ष जनशक्ति आवश्यक हुने र त्यसतर्फ प्रहरी प्रधान कार्यालयले निरन्तर प्रयास गरिरहेको बताउँदै तामाङले भन्नुभयो, “वित्तीय अपराध, अनलाइन ठगी अवैध क्रिप्टोकरेन्सीलगायत सबैभन्दा बढी आर्थिक अपराध हुने सट्टेबाजीमा उच्च प्रविधिको प्रयोग भइरहेको छ । यसलाई निरुत्साहित गर्न देशभर जनचेतनासँगै साइबर अपराध अनुसन्धान गर्ने प्रहरी युनिट विस्तारमा हामीले जोड दिएका छौँ ।” तामाङका अनुसार पछिल्लो समय उच्च प्रविधिको प्रयोगमार्फत आर्थिक अपराध बढ्न थालेपछि त्यसको प्रभावकारी अनुसन्धानका लागि प्रहरीमा आर्थिक अपराध ब्युरो स्थापनाको समेत तयारी भइरहेको छ ।
सङ्गठित अपराधका घटनामा पछिल्लो समय कुनै न कुनै पार्टीमा आबद्ध र प्रभावशाली व्यक्ति संलग्न भएका घटना बाहिरिँदै आएका छन् । कुनै न कुनै बेला राज्यसत्ता र शक्तिमा आसीन व्यक्ति संलग्न हुँदा प्रहरीले गर्ने अनुसन्धान नै प्रभावित हुने त होइन भन्ने चिन्ता र आशङ्का व्याप्त छ ।
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी सङ्गठित अपराधका शृङ्खला एकपछि अर्को गरी बाहिरिँदै गर्दा समाज कतै अराजकतातर्फ उन्मुख हुने त होइन भन्ने चिन्ता व्यक्त गर्नुहुन्छ । राजनीतिमा संलग्न रहेका विभिन्न व्यक्ति नै कुनै न कुनै अपराधसँग जोडिएका घटना बाहिरिँदै गर्दा अपराध र राजनीति छुट्याउनै मुस्किल हुन थालेको बताउँदै सुवेदीले भन्नुभयो, “राजनीति र सङ्गठित अपराध पर्यायवाची जस्तै भयो, कमजोर पार्टी र राजनीतिज्ञले सङ्गठित अपराधबाट फाइदा लिने जुन प्रवृत्ति बढ्दै छ । यसलाई निरुत्साहित गरिएन भने यसको परिणाभ भविष्यमा विकराल हुन सक्छ ।”
सुवेदीले सङ्गठित अपराधको जालो राज्यका हरेक निकायमा उपल्लो तहसम्म नै फैलिएको र यसले नीति निर्माण र निर्णयमा नै प्रभाव पारिरहेकाले प्रहरीले गर्ने अनुसन्धान मात्र पर्याप्त नहुने तर्क गर्नुहुन्छ । सङ्गठित अपराधको स्रोत नै भ्रष्टाचार रहेकाले नीतिगत र कानुनी सुधारसहित यसलाई निरुत्साहित गर्नतर्फ राज्यले कत्ति पनि विलम्ब गर्न नहुने सुवेदीको सुझाव छ ।