• १७ मङ्सिर २०८२, बुधबार

मधेश सरकार गठन गर्न आव्हान

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर १७ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशमा नया सरकार गठनका लागि दावी पेश गर्न अह्वान गर्नुभएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको  राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि दावी पेश गर्न अह्वान गर्नुभएको हो । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार दिनको ५ बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफनो दावी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) अनुसार राजीनामा दिने घोषणा प्रदेशसभामा गर्नुहुँदै प्रदेश प्रमुख समक्ष राजीनामा दिनुभएको थियो । 

प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरी संविधानको व्यवस्थाअनुरुप नयाँ सरकार गठनको लागि आव्हान गर्नुभयो । अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्री परिषद्लाई काम चलाउ प्रदेशको मन्त्री परिषद्को रुपमा कार्यभार सञ्चालन गर्न तोक्नुभएको निमित्त सचिव यादवले जानकारी दिनुभयो ।