• २३ पुस २०८१, मङ्गलबार

वैदिक गुरुकुल निर्माण गरिँदै

blog

घोराही समाचारदाता 

घोराही, मङ्सिर ११ गते ।  दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धार्मिकधाम धारापानीमा वैदिक गुरुकुल निर्माण अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म निर्माणको काम रोकिएको थियो ।  

हिन्दु धार्मिक संस्कार विकाससँगै दक्ष पण्डित उत्पादन गर्ने गरी पाँच वर्षअघि तीन करोडभन्दा बढीको लगानीमा निर्माण सुरु गरिएको थियो । पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले गुरुकुल निर्माणको काम अहिले अघि बढेको जानकारी दिनुभयो ।  

अध्यक्ष अधिकारीका अनुसार गुरुकुल निर्माणका लागि २०७५ सालमा धारापानीमा लगाइएको महायज्ञ र सङ्घीय सरकारले दिएको करिब २५ लाख बजेट गरी सवा करोड रुपियाँबाट गुरुकुल निर्माण स्थल मिलाउनेदेखि दुई तलासम्मका लागि पिल्लर उठाइएको थियो । डेढ तलासम्मको ढलान गर्ने काम गरिएकोमा आर्थिक अभावका कारण बाँकी निर्माणको काम हुन सकेको थिएन । 

गएको साउनमा धारापानीमा सञ्चालन गरिएको शिव महापुराण सत्सङ्ग ज्ञान महायज्ञ एवं शृङ्गारिक महाआरतीबाट सङ्कलन भएको रकमबाट पहिलो तलाको फिनिसिङ तथा झ्यालढोका, शौचालय निर्माणको काम सुरु भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । अध्यक्ष अधिकारीले भन्नुभयो, “वैदिक गुरुकुल निर्माणको काम सुरु भए पनि आर्थिक अभावका कारण निर्माण हुन सकेको छैन । गत साउनमा लगाइएको महाआरतीबाट सङ्कलन भएको केही रकम लगाएर पहिलो तलाको काम सक्ने तयारीमा लागेका छौँ ।”  

करिब दुर्ई बिघा क्षेत्रफलमा निर्माण गर्न थालिएको गुरुकुलमा विद्यार्थी आवासीय सुविधासहित पढ्ने र बस्ने व्यवस्थासहित गुरुकुल सञ्चालन गर्ने तयारी रहेको छ । समितिका अध्यक्ष अधिकारीले भन्नुभयो, “अहिले पनि पनि बजेट अभावका कारण गुरुकुलको सम्पूर्ण काम सकिने अवस्था छैन । सुरु भएको पहिलो तला सक्ने गरी काम सुरु गरेका छौँ ।” गुरुकुल निर्माणका लागि अझै डेढ करोडभन्दा बढी बजेटको आवश्यकता रहेको समितिले जनाएको छ । 

व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार गुरुकुलमा सरकारले तयार गरेको पाठ्यक्रमसँगै नैतिक शिक्षा र संस्कृत विषय पढाइ हुने छ । गुरुकुलसँगै एक करोडको लगानीमा गौशाला निर्माण गर्ने समितिको तयारी रहेको छ । करिब एक सय गाई अट्ने गौशाला निर्माण गर्ने समितिले जनाएको छ ।