• २५ पुस २०८१, बिहिबार

जिप सफारीको रुट व्यवस्थापन चुनौतीपूर्ण

blog

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीबाट वन्यजन्तु देखाइँदै ।

वसन्त पराजुली 

नारायणगढ, मङ्सिर ११ गते । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक लिएर भित्रिने जिप सफारीको रुट व्यवस्थापन चुनौती बनेको छ । पर्यटकको चाप बढ्दै गएका बेला जिप सफारीको रुट एउटै हुँदा  त्यसले प्रदूषण बढ्नुका साथै वन्यजन्तुको आनीबानी परिवर्तन हुन थालेको विज्ञहरूले औँल्याएका छन् । 

वन्यजन्तुविज्ञ डा. बाबुराम लामिछाने पछिल्लो समय निकुञ्ज भित्रिने सवारीसाधनको भिडभाडले समस्या बढ्दै गएको बताउनुभयो । “एउटै प्रवेशद्वारबाट धेरै सवारीसाधन एकै पटक छिर्दा त्यसले ध्वनि प्रदूषण बढाएको र होहल्लाले जनावर तर्सने डराउने समस्या बढेको छ,” उहाँले भन्नुभयो, “जनावर तर्सेर भाग्दा क्षेत्र नै छाडेर अन्यत्र जाने वा पर्यटकलाई आक्रमण गर्न सक्ने चुनौती पनि छ ।” 

निकुञ्जमा अहिले सबैभन्दा बढी सौराहा क्षेत्रबाट सवारीसाधन भित्रिन्छन् । सौराहाबाट मात्रै अहिले दैनिक ३२ वटा जिप पर्यटक लिएर भित्रिन्छन् । त्यस्तै कसराबाट २०, मेघौलीबाट १० र नवलपरासीको अमलटारीबाट आठ वटा जिप नियमित रूपमा निकुञ्ज प्रवेश गर्छन् । सौराहाका नेचर गाइड वासु बिडारी निकुञ्जको जुन प्रवेशद्वारबाट प्रवेश भए पनि अहिले जिपको एउटै मात्र रुट भएको बताउनुहुन्छ । त्यो भनेको राप्ती र नारायणी तटीय क्षेत्रबाट निकुञ्जको पूर्वदेखि पश्चिमसम्म रहेको मोटर चल्ने अवस्थाकै रुट हो । 

“सौराहाबाट वा मेघौली जताबाट पनि जाने भनेकै त्यही पुरानो टाइगर टपसम्मकै रुट हो । जसरी पनि निकुञ्जभित्र रुट एउटै पर्छ,” उहाँले भन्नुभयो, “यसले निकुञ्जमा सवारीसाधनको चाप वढेको र वन्यजन्तुमा असर परेको छ ।” 

सौराहामा जिप सञ्चालन गरिरहेको रोयल जिप सफारीका सचिव राममणि खनाल एउटै रुटले गर्दा समस्या बढाएकाले नयाँ रुट बनाउन निकुञ्जसँग अनुरोध गर्दा सुनुवाइ नभएको आरोप लगाउनुहुन्छ । “हामीले नयाँ रुट बनाउन निकुञ्जसँग भनिरहेका छौँ तर त्यसको सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जिप सवारीले समस्या बनाएको स्वीकार्नु हुन्छ । उहाँले वैकल्पिक रुटबारे पनि छलफल भइरहेको बताउनुभयो । 

“अहिले सीमित रुटमा जिप सफारी बढी भयो भन्नेमै छौँ । यसका लागि निकुञ्जका सबै क्षेत्रमा समान रूपमा सवारीसाधन लान सके अहिलेको समस्या सल्टिने छ भन्ने हामीले नबुझेका हैनौँ,” उहाँले भन्नुभयो । उहाँले वैकल्पिक रुट कहाँबाट बनाउन सकिन्छ भन्ने अध्ययन हुन जरुरी रहेको बताउनुभयो । “अहिले सबैभन्दा बढी पर्यटक प्रवेश गर्ने नाका सौराहाबाट जिपहरू पश्चिम नल्याई पूर्व लान सकिन्छ कि भन्ने पनि अध्ययन भइरहेको छ,” उहाँले भन्नुभयो । नेचर गाइट बिडारी पूर्वी क्षेत्रमा पुरानै ठोरी आवतजावत गर्ने चुरेको फेदीसम्म जिप सफारी पु¥याउन सकिने बताउनुहुन्छ । 

“पूर्वमा तत्काल दुई वटा जिप सफारीको रुट बनाउन सकिने अवस्था छ । त्यो भनेको एउटा पुरानो पदमपुरबाट मचान हुँदै पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्न सकिने दोस्रो भनेको पुरानै ठोरी चितवन पैदलयात्रा हुने मुलखोला हुँदै चुरेसम्म पुग्ने मार्ग,” उहाँले भन्नुभयो । मूल खोला चरा अवलोकनका लागि पनि सबैभन्दा उपयुक्त रहेको उहाँको भनाइ छ । 

वन्यजन्तुको संरक्षणमा अभियान चलाइरहनुभएका अभियन्ता अपिल घिमिरे एउटै रुटका कारण बढेको प्रदूषण रोक्न, अस्वस्थ प्रतिस्पर्धा रोक्न र वन्यजन्तुमा आएको परिवर्तन रोक्न पनि वैकल्पिक रुट उपयुक्त ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले भइरहेको मानिसको अनियन्त्रित चापले वन्यजन्तुमा असर गर्छ भने जनावर देखेर पर्यटकले आनन्द लिने र मानिसलाई देखेर जनावर पनि रमाउने वातवरण बनाऔँ न । त्यो भनेको एउटा मात्रै जिप सफारीको रुटलाई धेरै रुट बनाएर सवारी चाप घटाउनु नै हो ।”