गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २५ गते । विद्यालय तहका विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट गर्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले केन्द्रलाई सहमति दिएको हो । परिषद्को सहमतिसँगै अब केन्द्रले विद्यार्थीको मूल्याङ्कनको आधार तथा मापदण्ड बनाएर कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा पठाउने छ ।
यस अनुसार अब विद्यार्थीले घरमा गरेको कामको आधारमा विद्यालयबाट वार्षिक परीक्षामा अङ्क पाउने छन् । केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीको मूल्याङ्कन यस मापदण्ड अनुसार गरिने छ । पहिलो चरणमा सामाजिक अध्ययन, गणित र विज्ञान विषयको मूल्याङ्कन घरायसी कामलाई आधार मानेर गरिने उहाँले जानकारी दिनुभयो ।
अहिले विद्यालय तहमा सात वटै विषयमा २५ अङ्कको परियोजनात्मक कामको आधारमा मूल्याङ्कन गरेर अङ्क दिइँदै आएको छ तर यी तीन विषयका २५ अङ्क पूरै घरायसी कामका आधारमा दिइने भने होइन । घरायसी कामलाई तीन वा चार अङ्क प्रदान गरिने छ ।
सम्बन्धित विषयशिक्षकले विद्यार्थीका अभिभावकसँग समन्वय गरेर विद्यार्थीको घरको कामको मूल्याङ्कन गर्ने छन् र सोही मूल्याङ्कनका आधारमा अङ्क दिइने छ । यस वर्ष मूल्याङ्कनको मापदण्ड बनाउने र अर्को वर्षदेखि कार्यान्वयनमा लैजाने केन्द्रका महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।