नेपालमा भर्खरै सामन्ती युगको अन्त्य भए पनि पूर्ण रूपमा अन्त्य भइसकेको छैन । यसको अन्त्यबिना पुँजीवादको विकास गर्न सकिँदैन । पुँजीवादी लोकतान्त्रिक युगको सङ्क्रमणकालीन अवस्था भन्न सकिएला । कतिपयले पुँजीवादको पूर्ण विकास भए मात्र समाजवाद अर्थात् समुन्नत समाजवाद आउने तर्क गर्छन् तर त्यो सत्य होइन, यसलाई प्रस्ट पार्न केही सैद्धान्तिक छलफल वा बहसको आवश्यकता पर्छ ।
हामीले बुझ्ने समाजवाद के हो ? समाजवादी चिन्तनको विकासक्रम कस्तो छ । समाजवाद र पुँजीवादबिचको भिन्नता के छ, पुँजीवाद र साम्यवादको फ्युजन वा तेस्रो बाटो भनिएको प्रजातान्त्रिक समाजवादको अभ्यास र सम्भावना कस्तो देखियो । समाजवादका शास्त्रीय विचार र अबको दुनियाँमा क्रियाशील जनसूत्रवादी विचार क्रियाशील हुन सक्छन् कि सक्दैनन् । पुँजीवाद र समाजवादबिचको अन्तर र समानता के हो ? समाजवादको सामाजिक चिन्तन दर्शन र सिद्धान्तमा कहाँनेर फरक छ ? यस्ता थुप्रै यस्ता प्रश्नको जवाफ वा बहस नेपालको बौद्धिक वर्ग र नेपाली जनताले व्यवहारमा खोजिरहेका छन् । यी सबैका बारेमा बहसको थालनी यस लेखमा मात्र सम्भव छैन । यहाँ केवल समाजवादको थालनी, समाजवादको विघटन र अहिले बहसमा आएका समुन्नत समाजवाद र सामुदायिक समाजवादको पनि सङ्क्षिप्त विषय मात्र राखेपछि पाठकले बहस थालनी गर्ने छन् ।
समाजवादको पहिलो विचारधारालाई ‘युरोपियन समाजवाद’ भन्ने गरिएको छ । पूर्वीय सभ्यताको रामराज्य र पाश्चात्य जगत्मा प्लेटोनिक साम्यवादको अवधारणाले यस्तो समाजवादी चिन्तनलाई प्रश्रय दिएको हो । आधुनिक युरोपमा देखा परेको ‘फेबियन समाजवादी’ हरूका कैयौँ विशेषता युरोपियन धारसँग मिल्दाजुल्दा थिए । काल्पनिक समाजवादी आध्यात्मिक कम्युन प्रणालीसमेत विश्वास गर्थे । बौद्ध गुम्बा क्रिस्चियन, चर्च र हिन्दु आश्रमको उद्देश्य निजी सम्पत्तिविहीन जीवन प्रणालीको अभ्यास गर्नु थियो । मिठा कल्पना, नैतिक उपदेश, भद्रता, आध्यात्मिक आदर्श, सादा जीवन पद्धति र गृहस्थ जीवनप्रतिको विश्वासबाट यस्तो समाजवादी चिन्तन बनेको थियो ।
प्रुधो, सेन्ट साइमन, चाल्र्स फुरियर र रोबर्ट ओमन थुप्रै युरोपेली वैज्ञानिक चिन्तनले यस्तो समाजवादी धारालाई विकास गरेका थिए । यी सबैको अध्ययन गर्दै कार्ल माक्र्सले १९ औँ शताब्दीमा धरातलीय यथार्थमा आधारित भएर विपन्न सर्वहारा वर्गको दयनीयता र प्रारम्भिक पुँजीवादलाई आधार बनाएर माक्र्सले समाजवादको भावधारालाई विकास गरेका थिए । लेनिनले त्यसलाई सोभियत सङ्घ रुसमा लागु गरे । समाजवाद त लागु भयो युरोपेली समाजवादको लहर पनि आयो तर त्यो असफल पनि भयो । त्यसका केही कारण छन् ।
पहिलो, समाजवाद लागु गर्दा लोकतन्त्रको कुनै मूर्त र प्रस्ट ढाँचा नै बनाउन सकिएको थिएन । त्यो समयमा रुसमा जुन प्रकारको राजनीतिक प्रणालीको अभ्यास गरियो, त्यो प्रणाली नै लोकतान्त्रिक ढाँचाको भएन भनेर जताततै आवाज उठ्न थाल्यो । लोकतन्त्र प्रणाली विकास नगर्दा उनीहरू अधिनायकवादको समस्यामा फसेका थिए । दोस्रो, जनताले सार्वभौम बालिग मताधिकार विचारका रूपमा राजनीतिक सङ्गठनको स्वतन्त्रताको अनुभव नै जनताले गर्न पाएनन् । तेस्रो, अधिनायकवाद अभ्यासका कारण एकातिर पार्टी ब्युरोक्रेसीमा नयाँ सम्भ्रान्त शक्तिशाली वर्गको उदय भयो, जनतालाई राज्यको कृपामा निर्भर हुनुपर्ने, अधिकारविहीन तथा शक्ति र साधनविहीन वर्ग उत्पन्न भयो ।
समाजवादीको उद्देश्य उत्पादनका साधनको राष्ट्रियकरण गर्नु त्यसको मुख्य आर्थिक ढाँचा थियो । मूलतः निजी स्वामित्व र सार्वजनिक स्वामित्वबिचको गतिशील सन्तुलनलाई त्यसले कायम गर्न सकेन । त्यसले गर्दा मानिसलाई कामप्रति उत्प्रेरित गर्ने र त्यसको प्रतिफल पाउनेतर्फ क्रियाशील गराउन सकेन । सँगसँगै पत्नीको पुनरुत्पादन हुन सकेन र उत्पादन घट्यो । त्यसैले काम गर्न सकेन । विविध कारणले राज्य नियन्त्रित समाजवाद विघटन हुन पुग्यो । अहिले समाजवादबारे कुरा उठेको छ ।
नेपालमा पनि संविधानमा नै समाजवादोन्मुख लेखिएको छ । सबैको जनजिब्रोमा समाजवाद भन्ने विषय उठ्दै आएको छ तर कसैको पनि खास योजना देखिँदैन । अहिले नेपाली समाजमा दुई वटा समाजवादका विषय उठेका छन् । पहिलो, समुन्नत समाजवाद र दोस्रो सामुदायिक समाजवाद । मुख्यतः खुला अर्थतन्त्र, निजित्व मुनाफाको निर्बाध अधिकार, निजीकरण र निजी स्वामित्वको निर्बाध अधिकार दिएको समाजव्यवस्थालाई पुँजीवाद भन्ने गरिन्छ । त्यसको ठिक विपरीत सामूहिकता, राज्य अर्थतन्त्र, सार्वजनिक स्वामित्वको निर्बाध प्रयोग, मुनाफाविहीन अर्थतन्त्र, उत्पादनका साधनको राष्ट्रियकरण भएको समाजव्यवस्थालाई समाजवाद भनिन्छ ।
हामीले द्वन्द्ववादी प्रणालीबाट हेर्नु पर्छ । यी दुवै प्रणालीमध्ये कुनैको पक्षपोषण नगर्नु नै समुन्नत समाजवादको व्याख्या हो । मुख्य नेपाली समाजमा व्यक्तिमा समुदाय निजित्व र सामूहिकता सार्वजनिक स्वामित्व र निजी स्वामित्व, राष्ट्रियकरण र निजीकरण बजारयन्त्र र राज्ययन्त्र, सेवा र मुनाफा दुवै पक्षको सन्तुलित उपयोग गर्ने मोडलको समाजवाद नै समुन्नत समाजवाद भनिएको छ ।
बहस बाँकी नै छ । हामीले दुई प्रवर्गमध्ये कुनै एक प्रवर्गको पक्षको निरपेक्ष समर्थन वा विरोध गर्न हुँदैन । हामीले नेपालको मौलिकतामा यस्तो समाजवादी ढाँचा आजसम्म भन्ने गरिएका ढाँचाभन्दा फरक हुनु पर्छ ।
समुन्नत समाजवादको केही कुरा माथि उल्लेख गरिएको छ । अब अर्को बहस सामुदायिक समाजवादको पनि उठेको छ । विभिन्न विषयमा छलफलले नेपालको वस्तुगत अवस्था अनुसार समाजवादको आवश्यकता छ र बहस त्यहीँनेर केन्द्रित हुनु पर्छ । सोमता घिमिरे लेख्नुहुन्छ, “हामीले हाम्रो समाजको विविधतालाई ख्याल गरी समाजवादको बहस गर्दै जानु पर्छ,” समाजवादका सामूहिकता अभ्यास स्वयंसेवी समूह, उत्पादनको वृद्धि र वितरणमा न्याय हो । जहाँ उत्पादन हुन्छ त्यहाँ रोजगारी पनि हुन्छ । यो बहसले पुँजीवादको विकास कुन तरिकाले गर्ने हो, त्यसबारे मेल खाँदैन ।
नेपालमा फेरि प्रगतिशील पुँजीवाद नभएर दलाल नोकरशाही पुँजीवादको बोलबाला छ । हो, समाजवाद स्थानीयस्तरबाट आर्थिक कार्यक्रम जनताको सार्वभौमिकता, सांस्कृतिक विविधता र सामाजिक अभ्यासमा टेकेर मात्र अगाडि बढ्न सक्ने प्रश्न सही हो तर त्यसैले मात्र पुँजीवादको विकास त हुँदैन । कतिपय आर्थिक असन्तुलन छन् । हामीले कर्णाली प्रदेश र बागमती प्रदेशलाई समान रूपले तुलना गर्न सक्दैनौँ । नेपालमा प्रविधि, पुँजी, मानवीय स्रोत जो विदेश पलायन भएको छ, त्यसलाई रोक्न सके उत्पादन बढाउन सकिने प्रबल सम्भावना छ । बजार व्यवस्थापन र वितरण प्रणाली सामाजिक न्यायमा आधारित बनाउने हो भने समाजवादको यात्रामा पाइला टेक्न सकिन्छ ।
समाजको कुरा गर्दा औद्योगिकीकरण, रोजगारी, सामाजिक न्यायका शृङ्खलालाई ध्यान दिन आवश्यक छ । हामीले दुई वटा समाजवादका मोडलबाट सकारात्मक कुरा राखेर नेपालको बसाइँसराइलाई रोक्न सकियो भने गाउँमा हुने जल, जङ्गल, जमिनलाई उत्पादनशील बनाउन सके पुँजीको विकास मात्र होइन, समाजवादको यात्रा तय गरिने छ ।