नेपालको अन्नभण्डार भनेर तराई मधेशलाई चिनिन्छ । यहाँका समतल भूभाग, नदीनाला, सिँचाइको प्रशस्त सम्भावनाले मधेशलाई यो परिचय दिएको हो । मधेशमा उत्पादन हुने अन्नबाली देशको कुनाकाप्चामा पुग्ने गरेको छ । मधेशको अर्को पनि परिचय छ, त्यो हो जनकनन्दनी जानकीको जन्मभूमि । त्रेतायुगमा मिथिला राज्यका राजा जनकको राजधानी जनकपुर यसै मधेशमा पर्छ । राजा जनककी पुत्री जानकी अर्थात् सीताको जन्मभूमि जनकपुर मिथिला सभ्यता र संस्कृतिको पावनभूमि हो । यो भूमि गुरु विश्वामित्र र परशुरामको भूमि पनि हो । यहाँ कैयौँ धार्मिक स्थल एवं देवीदेवताका स्थल छन् । जनकपुरधाम, धनुषाधाम, मटिहानी, सहलेस, कङ्कालिनी, गढीमाई, राजदेवीलगायतका धार्मिक स्थल छन् भने एक सयभन्दा बढी पर्यटकीय स्थल छन् । जनकपुर–जयनगर रेलवे सञ्चालन भइरहेको छ । कुनैबेला नेपालको प्रवेशद्वार मानिएको वीरगन्ज यसै प्रदेशमा पर्छ । वीरगन्ज–पथलैया कोरिडोरमा सयौँको सङ्ख्यामा उद्योग तथा कारखाना छन् । भारतीय सीमासँग जोडिएको मधेश हरेक दृष्टिले सम्भावना भएको प्रदेश हो । यति धेरै सम्भावना भएर पनि मधेश पिछडिएको छ । यहाँको शैक्षिक अवस्था राम्रो छैन, मानव सूचकाङ्क सन्तोषप्रद छैन । विकासमा निकै पछाडि परेको छ । समतल भूभागको सुगम स्थान भएर पनि यो प्रदेशले जुन रूपमा विकासको गति लिनुपर्ने हो, त्यो हुन सकेको छैन । विकासको गति सुस्त छ ।
मधेश प्रदेशमा विभिन्न कारणले गर्दा विकास सुस्त भए पनि यसलाई तीव्रता दिन प्रदेश सरकारले पहल थालेको छ । मधेश प्रदेशका आठ जिल्लाका ६४ वटै निर्वाचन क्षेत्रलाई जोड्ने गरी सडक निर्माण थालिएको छ । प्रदेशमा एक निर्वाचन क्षेत्र, एक सडक अभियान अन्तर्गत सडक निर्माण हुने छ । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको महत्वाकाङ्क्षी योजना अन्तर्गत यस पुनीत कार्यको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गर्नुभयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिबाट यसको शिलान्यास गर्नुभएको थियो । त्यस क्रममा उहाँले विगतका केही समय कृत्रिम कारणले मधेश प्रदेश पछाडि परे पनि अब भने विकास तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो । निर्माण हुने सडक सबैको साझा प्रयासले समयमै गुणस्तरीय ढङ्गले सम्पन्न हुने र यसले प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन आवश्यक भएको प्रसङ्ग उल्लेख गर्दै सुशासन कायम गरी विकासको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मधेश प्रदेशमा विकासका काम प्रशस्तै भएको भन्दै केन्द्र र प्रदेशले गरिब र निमुखा जनतालाई १० हजारभन्दा बढी आवास बनाइदिएको बताउनुभयो । मधेश प्रदेशलाई सिँचाइ उपलब्ध हुने बहुप्रतीक्षित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय योजना समयमै सम्पन्न हुनुपर्ने र समयमा काम सम्पन्न नभए ठेक्का तोडेर अर्को ठेक्कामार्फत भए पनि योजना सम्पन्न गरिने जानकारी उहाँले दिनुभयो ।
सुनकोशीलाई मरिण खोलामा मिसाएर सिँचाइ गर्ने बहुचर्चित योजनाका रूपमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय योजना निर्माणाधीन छ । यो योजनाले मधेशमा उत्पादकत्व बढ्नुका साथै जलविद्युत् आयोजनामार्फत विकासमा कायापलट ल्याउने छ । कोशी, कमला, बागमती, लखनदेही, लालबकैया जस्ता ठुला तथा साना नदीको पानीसमेत सदुपयोग गर्न सके यहाँका उर्वर भूमिले कृषि उत्पादनमा सहजता ल्याउने छ । यस्तै निजगढ–काठमाडौँ दु्रतमार्ग प्रस्तावित सिमरा अन्तर्राष्ट्रिय विमानस्थल जस्ता कयौँ विकासनिर्माण मधेशको विकासमा कोसेढुङ्गा साबित हुने छ । यी कार्य समयमै सम्पन्न हुनु पर्छ । प्रधानमन्त्री ओलीले भन्नुभए झैँ विकासका लागि सुशासन आवश्यक हुन्छ । मधेश प्रदेशमा अझै पनि कतिपय सडक तथा पुलपुलेसा बर्साैंदेखि निर्माणाधीन छन् । यहाँको विकासलाई गति दिने हुलाकी सडक अझै पूरा भएको छैन । कैयौँ स्थानका पुल निर्माण अलपत्र छ । ठेक्का पाएपछि निर्माण सुरु गरिहाल्ने तर बिचमै छाडी पूरा नगर्ने परिपाटीले विकास कार्य अवरुद्ध हुँदै आएको छ । यसले गर्दा सार्वजनिक आवागमनमा नागरिकले सास्ती बेहोर्नु परेको छ भने वर्षायाममा त कहालीलाग्दो अवस्था उत्पन्न हुने गर्छ । यस्तो स्थितिको अन्त्य जरुरी छ । ठेक्का लिएपछि निर्धारित समयमै काम सम्पन्न गरिनु पर्छ । समयमा सम्पन्न नगर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याएर क्षतिपूर्ति भराउने र अर्को ठेक्कामार्फत काम गराउनेतर्फ तिनै तहका सरकार अग्रसर हुनु पर्छ । मधेश प्रदेशका हरेक निर्वाचन क्षेत्रका जनतालाई आपसमा जोड्ने यो सडक मधेशकै पूर्वाधार विकासमा प्रभावकारी कदम साबित हुने छ ।