• २५ पुस २०८१, बिहिबार

स्याउ र ओखरको क्षेत्र विस्तार गरिँदै

blog

रजनी योगी

सुर्खेत, पुस २५ गते । कर्णाली प्रदेश सरकारले स्याउ तथा ओखरको उत्पादन बढाउन क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय स्याउ तथा ओखर उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस वर्ष प्रदेश सरकारले फलफूल क्षेत्र विस्तार कार्यव्रmमलाई प्राथमिकतामा राखेको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । यो कार्यक्रम नौलो भने होइन । अघिल्ला आवमा पनि सरकारले यो कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यस वर्ष सात जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

साबिक कर्णालीका पाँच जिल्लासहित दैलेख र रुकुमपश्चिममा स्याउ तथा ओखर क्षेत्र विस्तार कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन गरिने छ । प्रत्येक जिल्लामा करिब १०/१० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

साबिक कर्णालीका पाँच जिल्लामा स्याउ र ओखर विकास आयोजना सञ्चालन भइरहेको छ । दैलेख र रुकुमपश्चिमलाई पनि ओखर उत्पादनका लागि क्षेत्र विस्तार गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । पछिल्ला वर्षमा किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । 

बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता कठायतले बताउनुभयो । यो कार्यव्रmमबाट कृषकले प्रत्यक्ष लाभ लिने छन् । आवश्यक प्राविधिकको व्यवस्था गरिएको छ । साबिक कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु तथा दैलेख र रुकुमपश्चिममा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । 

सम्भाव्यता अध्ययनका आधारमा परियोजनाका लागि पालिकाहरू छनोट गरिने छ । प्राविधिकले उक्त स्थान फलफूल उत्पादनका लागि उपयुक्त भए/नभएको अध्ययन गर्ने छन् । सोही अध्ययनका आधारमा पालिका छनोट गरिने जनाइएको छ । 

कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष पाँच करोड बजेट विनियोजन गरिएको थियो । केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ भने यस वर्ष प्राविधिकले छनोट गरेका स्थानमा मात्र कार्यान्वयन हुने छ । अघिल्ला वर्षमा अनुमानका आधारमा कार्यव्रmम कार्यान्वयन गर्दा लक्ष्य अनुरूपको प्रतिफल आउन सकेको थिएन ।

कर्णालीका हिमाली जिल्लामा स्याउ तथा पहाडी भेगमा सुन्तला खेती रुचाएको पाइएको छ । प्रदेशमा विगतको तुलनामा हाल फलफूल खेतीको क्षेत्र बढेको मन्त्रालयले जनाएको छ । बजार पाउन सजिलो, नाफामूलक र फलफूलका लागि विभिन्न सरकारी अनुदानका कार्यव्रmम राखिएकाले पनि यसतर्फ किसानको आकर्षण बढेको देखिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा कर्णालीमा ‘नाफा परियोजना’ कार्यान्वयन गर्न लागिएको छ । स्याउ र सुन्तला जस्ता फलफूल खेतीमा ठुलो लगानी गरेर व्यावसायिक रूपमा गर्ने प्रचलन बढाउन मन्त्रालयले कार्यक्रम अघि सारेको हो ।

नाफा परियोजनाले पनि फलफूल खेती गर्ने किसानलाई प्रेरित गर्ने छ । साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता कठायतले बताउनुभयो । क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत प्रदेश सरकारले रैथाने बाली प्रवर्धन, ब्याज अनुदानका कार्यक्रम, प्राङ्गारिक प्रवर्धन कार्यक्रम राखेको छ ।  गत वर्ष साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्न एक करोड बजेट विनियोजन गरिएको थियो । यो वर्ष पनि सोही हाराहारीमा बजेट विनियोजन गरिएको छ ।