बैतडी समाचारदाता
बैतडी, पुस २५ गते । जनधनको सुरक्षा गर्ने जिम्मेवारीमा खटिएका महिला प्रहरी बस्ने ब्यारेक नहुँदा डेरामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बैतडी जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटमा कतै पनि महिला प्रहरी बस्ने ब्यारेक छैन । यस्तो अवस्थामा आफ्नो पैसा खर्च गरेर डेरा बस्नु परेको महिला प्रहरीले गुनासो गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयमातहत ३१ जना महिला प्रहरी कार्यरत छन् । प्रहरी कार्यालयनजिकै डेरा नपाउँदा महिला प्रहरीले थप झन्झट बेहोर्दै आइरहनुभएको छ । डेरामा बसेर तोकिएको समयमा ड्युटी गर्न समस्या भइरहेको उहाँहरूको पीडा छ । डेरामा बसेपछि पानी भर्नेदेखि लिएर बिजुली, फोहोरको समेत पैसा तिर्नुपर्नेदेखि लिएर अनेक समस्याका कारण तोकिएको समयमा ड्युटी गर्न समस्या भइरहेको छ ।
महिनावारी हुँदा समाजले गर्ने व्यवहारका कारणले कतिपय ठाउँमा कोठा खाली नभएको जवाफसमेत आउने गरेको उहाँहरूको गुनासो छ । जिल्ला प्रहरी कार्यालयभित्र महिला प्रहरीका लागि बस्ने ठाउँ नभएकाले समस्या भइरहेको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रप्रसाद मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला प्रहरीका लागि बस्ने ब्यारेक छैन । ठाउँ नभएर पुरुष प्रहरीकै बिजोग छ । पुरुषसँगै साँघुरो ठाउँमा महिला प्रहरीलाई राख्ने कुरा भएन । बस्ने ठाउँ नहुँदा प्रहरी निरीक्षक साप नै डेरा खोजेर बस्नुभएको छ ।”
जिल्ला प्रहरी कार्यालयसहित ३४ वटा प्रहरी युनियटमा ४८२ जनाको दरबन्दी रहेको छ । ३४ वटा प्रहरी युनिटमध्ये २२ वटा प्रहरी चौकीको आफ्नै भवन नहुँदा भाडाको जीर्ण घरमा चौकी राखेर बसिरहेका छन् । यस्तो अवस्थामा महिला प्रहरीको व्यक्तिगत गोपनीयताका कारण पनि डेरा खोजेर बस्नुपर्ने बाध्यता रहेको पाइएको छ । नियमले डेरा भाडा नपाइने भएकाले आफ्नै तलबबाट डेरा खोजेर बस्नुपर्ने महिला प्रहरीको बाध्यता छ ।
बालबच्चा भएका महिला प्रहरीका लागि डेरा पाउन झन् मुस्किल हुने गरेको छ । यदि महिला प्रहरीका श्रीमान् नेपाल प्रहरीमै जागिरे भएको अवस्थामा दुवै जनालाई एकै ठाउँमा ड्युटी खटाएर एक्लै डेरामा बस्नुपर्ने बाध्यताको समाधान गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयभित्र ब्यारेकका लागि एउटा मात्रै भवन भएकाले त्यहाँ सबै पुरुष प्रहरी अटाउनसमेत गाह्रो छ । थुनुवा कक्ष, सोधपुछ कक्ष, सञ्चार केन्द्र, कार्यालय सञ्चालन, बालमैत्री कक्ष सबै एउटै भवनबाट सञ्चालन गरिरहेका छौँ ।”
भवन अभावकै कारण जिल्ला प्रहरी कार्यालयभित्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष सञ्चालन गर्नसमेत गाह्रो भइरहेको छ । तीन फिट जति चौडा साँघुरो कोठामा एउटा टेबुल राखेर नागरिक सहायता कक्ष सञ्चालन भइरहेको छ । सहायता कक्ष साँघुरो भएकाले एकै पटक चार÷पाँच जना सेवाग्राही आए कुरा सुन्नसमेत समस्या हुने गरेको सहायता कक्षका इन्चार्ज प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर बोहोराले बताउनुभयो ।
डेरामा बस्दै आएका महिलालाई मासिक चार दिन बिदाको सुविधा भने पाउने गरेको महिला सेलमा कार्यरत प्रहरी रमिता ऐरले बताउनुभयो । कार्यालयबाट पाउने प्रोत्साहन, महिनावारी बिदा जस्ता सुविधामा कुनै कमी नभए पनि कार्यालयभित्रै महिला ब्यारेक भइदिए काम गर्ने मनोबल अझै उच्च हुने उहाँले बताउनुभयो ।