• २५ पुस २०८१, बिहिबार

सडक स्तरोन्नतिको काम सुस्त

blog

बागमती प्रदेश सभा सदस्य युवराज दुलाललगायतका सरकारी टोली चौतारा–झ्याँडी–नवलपुर सडक अनुगमन गर्दै ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, पुस २५ गते । सदरमुकाम चौतारा र पश्चिमी क्षेत्र मेलम्ची जोड्ने चौतारा–झ्याँडी–नवलपुर सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेकोे छ । उक्त सडक चौडा बनाउने र नाला बनाउने काम भइरहे पनि कामले गति लिन सकेको छैन । चौतारा–पिपलडाँडा–झ्याँडी सडकखण्डको ८.२ किलोमिटर लम्बाइको स्तरोन्नतिमा निर्माण व्यवसायीको बेवास्ताका कारण कार्यले गति लिन नसकेको हो । चौतारा–झ्याँडी सडकखण्डको ठेक्का सम्झौता भएको डेढ वर्ष भइसकेको छ । सम्झौता अनुसार असार महिनासम्म सडकको स्तरोन्नति गरिसक्नुपर्ने छ तर हालसम्म २५ प्रतिशत काम पनि पूरा भएको छैन ।

उक्त सडक कालोपत्रेसहितको स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले २६ करोड ८२ लाख ९३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार कार्यालयका प्रमुख प्रकाश पौडेलले निर्माण व्यवसायीलाई स्तरोन्नतिको काम तीव्र गतिमा गर्न लगाउने बताउनुभयो । सिन्धुपाल्चोकको पश्चिमी भेगको ‘लाइफ लाइन’ का रूपमा मानिने सो सडकखण्ड अहिले निर्माण कम्पनीको लापर्बाहीले गर्दा धुलो, खाल्टाखुल्टीका कारण नागरिकले सास्ती खेप्नु परेको  छ । बागमती प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सभा सदस्य युवराज दुलालले निर्माण कम्पनीलाई निर्धारित समय अवधिभित्र उक्त सडकखण्ड कालोपत्रेसहितको स्तरोन्नति गर्न भनिएको जानकारी दिनुभयो ।

दुलाल मन्त्री हुँदा नै उक्त सडक स्तरोन्नतिका लागि बजेट परेको थियो । सो सडकखण्ड स्तरोन्नतिमा निर्माण व्यवसायीकै कारण ढिलासुस्ती भएको दुलालले बताउनुभयो । तोकिएको समयभित्र सडक स्तरोन्नति गर्न पूर्वमन्त्री दुलालसहितको टोलीले सो सडकको अनुगमन गरेको छ । प्रदेश सभा सदस्य अमृता नेपाल, पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश पौडेल, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, वडाध्यक्षहरू, प्राविधिकसहितको अनुगमन टोलीले उक्त सडकखण्डमा निर्माण कम्पनीको लापर्बाहीका कारण सडक अलपत्र अवस्थामा रहेको निष्कर्ष निकालेको छ । तोकिएकै समयमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्न,  सडक चौडा गर्दा स्थानीयलाई हुने कुनै पनि समस्या नहुने गरी काम गर्न अनुगमन टोलीले निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।