सलिम मियाँ
बिजुवार, असार १४ गते । प्युठानको गौमुखी गाउँपालिका सङ्कटमा परेका चराहरूको सुरक्षित वासस्थलका रूपमा पुष्टि भएको छ । हिमाली अनुसन्धान केन्द्रले प्रस्तावित गौमुखी संरक्षण वन क्षेत्रमा गरेको अध्ययनमा दुई सय १७ प्रजातिका चरा फेला परेका छन् ।
गाउँपालिकाको सहयोगमा गरिएको सात महिनाको अध्ययनमा ४ हजार ५ सय ३८ वटा चरा अभिलेख गरिएको हो । वि.सं. २०८१ को असोजदेखि २०८२ वैशाखसम्म गरिएको स्थलगत अनुसन्धान समुद्री सतहबाट १ हजार १ सय मिटर उचाइको ठुलाबेँसीदेखि ३ हजार ३ सय मिटर उचाइको नाँगी लेकसम्मको क्षेत्र समेटिएको थियो ।
अध्ययन टोलीले झिमरुक–५ मच्छी (ढाँड) बाट झिमरुक नदी किनार हुँदै पूजा, झाँक्रीढुङ्गा, रजवारा, नाँगीलेक, गौमुखी, दुई बहिनी लेक, अर्खा र खुङ क्षेत्रसम्मको वन–जैविक क्षेत्र अध्ययन गरेको हो ।
२०८१ को असोजमा मङ्गोलियाबाट जाडोयाममा बसाइँ सर्ने गोमायु चिल, दक्षिणतर्फ जाने कर्याङ–कुरुङ सारस, र वैशाखमा नेपालमै प्रजनन गर्न बसाइँ सर्ने स्वर्गचरी, कोइली, सुनचरी, मुरलीचरा, कस्तुरा, चाँचरलगायत गृष्मकालीन आगन्तुकहरू देखिएका हुन् ।
चराविद् कृष्ण भुसालका अनुसार, असोजमा ३२ प्रजातिका चरा भेटिए, जसमा अधिकांश जाडो याममा बसाइसराइ गर्ने थिए । वैशाखमा गरिएको सर्वेक्षणमा ९७ प्रजाति फेला परे, जसमा प्रायः गृष्मकालीन आगन्तुक थिए । यी चराहरूले गौमुखी क्षेत्रमा गुँड बनाउने, प्रजनन गर्ने र मनसुनपछि फर्कने व्यवहार देखिएको अध्ययनले उल्लेख गर्छ ।
अध्ययनमा अभिलेख भएका २१७ प्रजातिमध्ये ९९ संरक्षण दृष्टिले महत्त्वपूर्ण छन् । तीमध्ये नेपालमै पाइने संरक्षित चिर कालिज र मुनाल, साथै विश्वमै दुर्लभ मानिने सुन, सेतो, डङ्गर गिद्ध, गोमायु महाचिल र हिमाली गिद्ध पनि फेला परेका छन् ।
भुसालका अनुसार अध्ययनमा सङ्कटापन्न सूचीमा रहेका १७ प्रजाति, सीमित क्षेत्रमा मात्र पाइने ४, विशेष भूगोलमा मात्र पाइने ६९ र साइटिस सूचीमा सूचीकृत ३१ प्रजाति गौमुखीमै भेटिएका छन्। त्यस्तै, लोपोन्मुख हाडफोर गिद्धको गुँड पनि अध्ययनले अभिलेख गरेको छ ।
चरासँगै अध्ययनमा ८ प्रजातिका पुतली, ५ माछा, ४ उभयचर, ८ सरिसृप र १८ प्रजातिका स्तनधारी जनावर पनि अभिलेख गरिएको छ । अध्ययन अनुसार उचाइ बढ्दै जाँदा चराका प्रजाति र सङ्ख्या घट्दै जान्छन् । तर, १ हजार ८ सय देखी दुई हजार ४ सय मिटर उचाइ क्षेत्रमा चराको विविधता सबैभन्दा बढी देखिएको हो । मानवबस्ती नजिकका खेतबारी, चौर, खरबारी, पानीका स्रोत र वन किनारहरू चराहरूको लागि उपयुक्त क्षेत्र बनेको अनुसन्धानले देखाएको छ ।
गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले सो अध्ययनले जैविक सम्पदा संरक्षण, वैज्ञानिक अनुसन्धान, ग्रामीण पर्यटन र स्थानीय जीविकोपार्जनमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो । “दिगो विकासका सम्भावना यस अध्ययनबाट झन बलियो भएको छ” उहाँले भन्नुभयो ।
वन तथा भूसंरक्षण विभागले २०१६ सालमै गौमुखीको करिब १८० वर्ग किलोमिटर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्न प्रस्ताव गरेको थियो । तर, हालसम्म यसले कानुनी मान्यता पाएको छैन ।
गुल्मीको मदाने, उत्तरमा बागलुङको वन क्षेत्र र पश्चिममा प्युठानको कोठिभीर वनसँग जोडिएको गौमुखी क्षेत्रमा संरक्षणको माग स्थानीय स्तरबाट हुँदैआएको छ ।