• २५ पुस २०८१, बिहिबार

लाइसेन्स आवेदन ‘इडिएल’ प्रणालीमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (इडिएल) प्रणाली लागु गर्दै छ । जसमा निरोगिताको प्रमाणपत्र  र बायोमेट्रिकका लागि लाममा बस्नुु पर्दैन । भुक्तनीदेखि लाइसेन्स आवेदनका सबै प्रक्रिया अनलाइनबाटै गरिने छ । 

प्रदेशले मातहतका यातायात कार्यालयहरूमा इडिएलको तयारी अन्तिम चरणमा पु-याएको छ । मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले भन्नुभयो, “अबको दुई हप्तामा इडिएल प्रणालीमा जान्छौँ ।  त्यसपछि लाइसेन्सको आवेदन दिनेहरूले सबै प्रक्रिया अनलाइनबाट गर्नुहुन्छ । कहीँकतै लाममा बस्न जानु पर्दैन ।” त्यसका लागि राष्ट्रिय परिचयपत्रसँग लिङ्कअप गरिएको छ । जहाँ लाइसेन्सका लागि चाहिने बायोमेट्रिक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट लिइन्छ । उक्त काम पहिला यातायात व्यवस्था विभागले गर्दै आएको थियो । विभागकै नियन्त्रणमा रहन्थ्यो तर अब भने बागमती प्रदेश सरकारले आफैँ गर्ने भएको हो ।