काठमाडौँ, असार ७ गते । श्रीलङ्काको कोलम्बोमा सम्पन्न बिलि जिन किङ कप टेनिसमा नेपालले पाँचौँ स्थान हासिल गरेको छ ।
‘प्लेअफ’ मा नेपालले ताजाकिस्तानलाई २–१ ले पराजित गर्दै पाँचौँ भएको हो । ताजाकिस्तान छैटौँ स्थानमा रह्यो ।
पहिलो सिङ्गल्सको पहिलो सेटमा सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई ७–५ ले पछि पार्नुभयो । त्यसपछि स्वस्तिका ‘रिटायर्ड हर्ट’ हुनुभएको थियो ।
दोस्रो सिङ्गल्समा नेपालकी सुनिरा थापाले अनिशा याख्येभालाई ७–५ र ६–२ ले पराजित गर्नुभयो । डबल्समा सुनिरा र अभिलाषा विष्टको जोडीले साइयोरा राजाबलिभा र सुमायाको जोडीलाई ६–३ र ६–१ ले हराउनुभयो ।
योसहित नेपालले प्रतियोगितामा तीन खेल जित्यो । यसअघि समूह चरणको खेलमा नेपालले म्यान्मारलाई २–१ तथा कतारलाई ३–० ले पन्छाएको थियो । त्यस्तै, श्रीलङ्काले नेपाललाई ३–० ले पाखा लगाएको थियो । नेपाल समूह ‘बी’ मा रहेको थियो ।
ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित सात राष्ट्र सहभागी थिए । श्रीलङ्का पहिलो, तुर्कमिनिस्तान दोस्रो, म्यान्मार तेस्रो, पाकिस्तान चौथो र कतार सातौँ स्थानमा रह्योे ।
श्रीलङ्काले अब ग्रुप २ मा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । पहिलो हुने राष्ट्र ग्रुप २ मा पुग्ने प्रावधान रहेको छ ।