• १६ साउन २०८२, शुक्रबार

बैंक खाताबाट पैसा हराउने घटना : साइबर सुरक्षाप्रति गम्भीर प्रश्न

blog

केशवराज भट्ट
वासुलिङ्ग (बैतडी), साउन १५ गते ।
नेपालमा पछिल्ला दिनमा बैंक खाताबाट पैसा गायब हुने घटनाहरू तीव्र गतिमा बढिरहेका छन् । डिजिटल बैंकिङ विस्तारसँगै यस्ता घटनाले उपभोक्ताको विश्वासमा गम्भीर आघात पुर्‍याइरहेको छ ।

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–३ का इञ्जिनियर हरिशङ्कर जोशीको खाताबाट रकम गायब भएको घटना हालै सार्वजनिक भएको छ । उहाँको नाममा रहेको सिद्धार्थ बैंकको खाताबाट ५४ हजार रुपियाँ जम्मा भए पनि क्रेडिट कार्ड तिर्ने १५ हजार कटौतीपछि बाँकी ३९ हजार रुपियाँमध्ये ३१ हजार रहस्यमय ढङ्गले हराएको देखिन्छ ।

उहाँका अनुसार, ‘‘मैले कुनै अनधिकृत कारोबार गरेको छैन । बैंकसँग सम्पर्क गर्दा पनि घटनाबारे स्पष्ट जवाफ पाउन सकिएको छैन, जसले थप आशङ्का उत्पन्न गराएको छ ।’’


इञ्जिनियर जोशीको अनुभव एक्लो घटना मात्र नभई यस्ता गुनासा देशैभरबाट आइरहेका छन् भन्ने आशङ्कासमेत बढ्दो छ । यसले बैंकभित्रको पारदर्शिता, साइबर सुरक्षाको अवस्था तथा नियामक निकायहरूको भूमिकामाथि प्रश्न उठाएको छ । सामान्य उपभोक्ताका लागि यस्ता घटनाले ठुलो मानसिक तनाव सिर्जना गर्नुका साथै बैंकप्रतिको विश्वासमा गम्भीर क्षति पुर्‍याउने खतरा देखिन्छ ।

यस्तो परिस्थितिमा राष्ट्र बैंक, साइबर ब्युरो, उपभोक्ता अधिकार संरक्षण समितिलगायत सम्बन्धित निकायले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल छानबिन सुरु गर्नु अपरिहार्य देखिन्छ । बैंकिङ प्रणालीमाथिको जनविश्वास जोगाउन यथाशीघ्र कारबाही र सुधार आवश्यक भइसकेको छ ।