• १६ साउन २०८२, शुक्रबार

नयाँगाउँका अर्गेला बारीमा लोभलाग्दो अकबरे

blog

धुर्कोट गाउँपालिका–१ नयाँगाउँका चन्द्र ताम्राकारका कामदार बारीमा खुर्सानी टिप्दै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन १५ गते ।
नयाँगाउँ सुन्तलाका लागि प्रख्यात ठाउँ हो । उत्तर फर्किएको भू–भाग भएकाले सुन्तला जातका फलफूल राम्रो उत्पादन हुन्छ । बिडम्बनानै हो नयाँगाउँका मान्छेका नयाँ सपनाले बस्ती रित्तो बन्दै गएको छ । उर्वर बारी अर्गेला बनेका छन् । तर धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकारले भने सुन्तला फल्ने गाउँमा खुर्सानीबाट पनि समृद्धिको सम्भव छ भनेर देखाउनु भएको छ । ताम्राकारले आफ्नो बारी मात्रै नभएर छिमेकका अर्गेला बारीमा समेत खुर्सानी पकाएर राताम्य बनाउनुभएको छ । उहाँ आफै पनि काम गर्न घर छोडेको पात्र हो ।

कामकै लागि १७ वर्षदेखि ओमन हुनुहुन्छ । घरका बारी अकबरे खुर्सानी पाकेर राताम्य बनेको छन् । स्थायी सात र १५ देखि १५ जना मौसमी कामदार आफ्नै घरमा छन् । ताम्राकारले अकबरे खुर्सानीको बजार र मुल्य राम्रो भएकाले बर्सेनी व्यावसाय थप्दै लैजानुभएको छ । उहाँकोमा गत वर्षसम्म आठ हजार अकबरे खुर्सानी थिए । अहिले बढाएर ३० हजार बोट पुर्‍याउनु भएको छ । पाक्न बेर मात्रै हो बजारकै कुनै समस्या छैन । यो वर्ष अहिलेसम्म १५ क्विन्टल खुसार्नी बजार पुगेको छ । भदौबाट नयाँ अकबरेको सिजन सुरु हुन्छ ।

ताम्राकारले अहिले करिब दुई सय क्वीन्टल खुसार्नी बेचेर ४० देखि ५० लाख रुपियाँ कमाउने लक्ष्यका साथ काम गर्नु भएको छ । उहाँले ओख्रेनी कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरेर व्यावसायीक रुपमा खुर्सानी खेती गर्न थालेका डेढ वर्ष भए । गत वर्ष पनि प्रतिकिलो सरदर २५० रुपियाँमा खुर्सानी बिक्री भएकाले करिव १२ लाख रुपियाँको कारोबार भएको ताम्राकारले जानकारी दिनुभयो ।

गुल्मीको मुख्य बजार बुटवल हो । अहिलेको सिजनमा पनि प्रतिकिलो सरदर २५० रुपियाँमा खुसार्नी बिक्री भइरहेको छ । ताम्राकारले आफ्नो २७ रोपनी र छिमेकीका बाँझा जग्गा भाडामा लिएर ७० रोपनीमा खुसार्नी खेती, सुन्तला र केरा खेती गर्नुभएको छ । ताम्राकार १७ वर्षदेखि ओमनमा हुनुहुन्छ । उहाँ पानी जहाजको सेफ भएकाले दुई-दुई महिनामा घर बिदा पाइन्छ । घरको कृषि कर्मको नेतृत्व श्रीमती मिना ताम्राकारले गर्नुभएको छ । लगानी, बजार र समग्र योजनामा आफैले काम गरेपनि कामको नेतृत्व श्रीमतीको काँधमा रहेको चन्द्रले बताउनुभयो ।

उहाँलाई परदेशको कमाई राम्रो भएकाले लगानीका समस्या छैन । लगानी अनुसारको प्रतिफल समेत हात परेकाले उर्जा मिलेको ताम्राकारले बताउनुभयो । नयाँगाउँ जिल्लाकै सवैभन्दा बढि सुन्तला उत्पादन हुने ठाउँ हो । तर बसाइँसराइले गाउँ खाली हुँदै जाँदा सुन्तला अर्गेला बन्ने अवस्था समेत रहेको छ । जसको कारण आफुले परदेशबाट आउँदा आम्दानी खाने गरेर पाँच सय बोट सुन्तला र स्थानीय जातका तीन सय बोट केरा रोपेको ताम्राकारले बताउनुभयो । उहाँको बारीमा १२ वटा टर्नेमा टमाटर छन् । मासिक १२ देखि २५ हजार रुपियाँ कमाउने कामदार फर्ममा कार्यरत छन् ।

प्युठान नौबहिनी गाउँपालिका–२ कुर्तिबाङ्गकी मनिस्का मगरले चार महिनादेखि फर्ममा काम गर्नुहुन्छ । मगरले त्योभन्दा पहिले निर्माण व्यावसायीका ठेक्का अनुसारका काम गर्नुहुन्थ्यो । दैनिक ६०० रुपियाँमा काम पाइएपनि नियमित काम नुहने हुँदा फर्ममा काम गर्न थालेको मगरले बताउनुभयो । ताम्राकारले स्थानीय सरकारको तर्फबाट पाँच वटा टर्नेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा सिंचाइँ पोखरी र ज्ञान केन्द्रको तर्फबाट हाते टयाक्टर पाउनु भएको छ । धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुँवरले चन्द्र ताम्राकारको कृषि कर्म निकै लोभलाग्दो भएकाले गाउँपालिकाबाट सक्दो सहयोगको प्रयास भएको बताउनुभयो ।