रामेछाप समाचारदाता
रामेछाप, पुस २५ गते । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले आफ्नो १६ औँ स्थापना दिवस बुधबार सदरमुकाम मन्थलीस्थित गुल्ममा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले परिवर्तित सन्दर्भमा चुनौती पनि थपिँदै जाने भन्दै सशस्त्र प्रहरी जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा सङ्गठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्य पथमा लाग्न निर्देशन दिनुभयो । जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले विपत्, सीमा रक्षालगायतका काममा सशस्त्र प्रहरी बलको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले देशमा विभिन्न कालखण्डमा आइपरेका विपत्, सीमा सुरक्षालगायतका चुनौतीमा सशस्त्र प्रहरीको भूमिका महìवपूर्ण रहेको बताउनुभयो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्मालगायतले बोल्नुभएको सो कार्यक्रममा अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई सम्मान गरिएको थियो ।