• २१ पुस २०८१, आइतबार

फरक्यापको २४ औं शिखर सम्मेलन

अनुसन्धानमा सरकार सहकार्य गर्न सधैँ तत्पर

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप)को २४ औं शिखर सम्मेलनमा ।

काठमाडौं, मंसिर १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुसन्धान क्षेत्रमा  सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । 

फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप) को २४ औं शिखर सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,“यस्ता खालका सम्मेलन नेपालमा आवश्यक छन् । सरकारसँग समन्वय गरेर अनुसन्धान गर्ने हो भने अनुसन्धानमा सरकार सहकार्य गर्न सधैँ तत्पर छ ।”

अनुसन्धानले लाखौँ मानिसको जीवनलाई प्रभाव पार्ने हुँदा अनुसन्धान गर्दा आचारसंहिताको पालन गरेर स्वास्थ्य क्षेत्रको भविष्य हेरेर अनुसन्धान गर्न अनुसन्धानकर्तालाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, “अनुसन्धान क्षेत्रबाट नै स्वास्थ्यका नीतिहरु बन्ने हुँदा देशको आवश्यकता अनुसार आचारसंहिता पालना गरेर स्वास्थ्यको भविष्य हेरेर अनुसन्धानकर्ताले अनुसन्धान गर्नुपर्छ ।” 

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सम्मेलनले अनुसन्धानकर्ताको हौसला बढ्ने हुँदा यस्तो सम्मेलन नेपालमा आयोजना गरेकोमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई धन्यवाद व्यक्त गर्नुभयो ।  

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अनुसन्धान गर्दा सरकारबीच समन्वय हुनुपर्ने जीकिर गर्नुभयो । 

समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले नीति निर्माण गर्न मद्दत पुग्ने उहाँकाे तर्क छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता खालका सम्मेलनले अनुसन्धानको क्षेत्रमा थप उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । 

जनस्वास्थ्यविद् प्राडा शरदराज वन्तले अनुसन्धानका नतिजाको आधारमा नेपालमा थुप्रै उपलब्धि भएको बताउनुभयो । अनुसन्धानमा असमानता अन्त्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

नेपालमा पहिलोपटक आयोजना भएको स्वास्थ्य अनुसन्धान आचारसंहिता विषयमा अन्तर्राष्ट्रिय सम्मेलनको नारा म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च (उत्तरदायी अनुसन्धान ः अधिक्तम लाभ’) रहेको छ।

४ दिन सम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरू, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, प्राज्ञिक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको महत्वपूर्ण उपस्थिति रहने परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो । 

सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको उपस्थिति छ। 

 कार्यक्रममा अनुसन्धान आचारसंहिताका विभिन्न बिदामा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतीकरण हुनेछन् । 

 सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीले भर्चुअल सहभागिता जनाएको आयोजकको दाबी छ ।  झण्डै ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरुको भौतिक उपस्थिति छ । 

सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तर्राष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरण छनोट गरिएको छ। सोमध्ये ६१ वटा प्रस्तुतीकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतीकरण राष्ट्रिय विज्ञहरुद्वारा गर्ने कार्यक्रम छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।