• १४ माघ २०८१, सोमबार

‘सांसदलाई सवाल'

सांसद उदय शमशेरलाई प्रश्न- निर्वाचन क्षेत्रको विकास कसरी गर्न सकिन्छ ?

blog

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उदय शमशेर जबरा राणा ।

काठमाडौँ, मङ्सिर ८ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व अर्थराज्यमन्त्री एवम् ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उदय शमशेर जबरा राणा विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुहुन्छ। परराष्ट्र, अर्थतन्त्र, उद्योग, जलस्रोत र पर्यटन क्षेत्रमा विशेष रुचि राख्नुहुने राणाको जन्म २०२६ साल फागुन १६ गते बुवा सागर शमशेर र आमा वृन्दाको कोखबाट भएको हो। राणा ललितपुर महानगरपालिका वडा नम्बर १ बखुण्डोल हाइटका स्थायी बासिन्दा हुनुहुन्छ। 

नेपाल र भारतका विभिन्न विद्यालयमा औपचारिक शिक्षा लिनुभएका उहाँले अमेरिकाबाट उच्च शिक्षा हासिल गर्नुभएको छ। राणाले औपचारिक शिक्षाको प्रारम्भ काठमाडौँको कालीमाटीमा रहेको कान्ति ईश्वरी विद्यालयबाट गर्नुभएको हो। त्यहाँ नर्सरी र केजी पढ्नुभएका राणाले १ देखि ३ कक्षासम्मको शिक्षा ललितपुरको जावलाखेलस्थित सेन्टजेभियर्स स्कुलबाट लिनुभयो। कक्षा ४ पढ्न भारतको दार्जिलिङ पुग्नुभएका राणाले सेनजोजेएफस् स्कुल (नर्थ पाइन्ट) बाट कक्षा १० सम्मको अध्ययन गर्नुभयो। उहाँले सिम्लाको लरेन्स स्कुल सनावरबाट ११-१२ कक्षा पढ्दै उच्च शिक्षाको सुरुवात गर्नुभयो। 

राणाले दिल्ली विश्वविद्यालयको सेन्स डिफेन्स कलेजबाट बिए अनर्स गर्नुभयो। उच्च शिक्षाका लागि अमेरिका पुग्नुभएका राणाले कर्नेल विश्वविद्यालयबाट सन् १९९३-९४ मा अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। अमेरिकामा उच्च शिक्षा लिएपछि नेपाल फर्किनुभएका राणा इन्टरनेसनल युनियन अफ सोसलिस्ट नामक  एउटा युवाहरूको अन्तर्राष्ट्रिय संस्थाको ग्लोबल उपाध्यक्ष हुनुभयो। जसको कार्यालय अष्ट्रियाको भियानमा थियो। उक्त संस्थाको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर उहाँले दुई वर्ष काम गर्नुभयो। 


दिल्ली विश्वविद्यालयमा अध्ययनरत रहँदा राणा २०४७ सालमा त्यहाँको नेपाल विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बन्नुभयो। उहाँ २०५४-२०५७ सालसम्म तरुण दलको ललितपुर जिल्ला अध्यक्ष बन्नुभयो। तरुण दलको जिल्ला अध्यक्ष भएपछि उहाँको राजनीतिप्रतिको सक्रियता अझ बढ्यो। केन्द्रीय सचिव, महासचिव, उपाध्यक्ष हुँदै २०६८-२०७२ सम्म उहाँ तरुणको केन्द्रीय अध्यक्ष बन्नुभयो। २०६४ सालको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा माओवादीका नेता वर्षमान पुनसँग झिनो मत अन्तरले पराजित भएसँगै उहाँले चुनावी प्रतिस्पर्धाको अनुभव गर्नुभयो। उहाँ २०७० सालमा संविधान सभाको चुनावमा भारी मत अन्तरले निर्वाचन हुनुभएको हो। २०७४ मा बनेको चुनावी सरकारमा उहाँले अर्थराज्यमन्त्री बनेर काम गर्नुभयो। सोही वर्ष (२०७४) मा सम्पन्न निर्वाचनमा नवराज सिलवालसँग पराजित हुनुभयो। पछिल्लो २०७९ को चुनावमा राणा विजयी हुँदै प्रतिनिधि सभामा प्रवेश गर्नुभएको हो।

प्रस्तुत छ- ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उदय शमशेर राणासँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको ‘सांसदलाई सवाल’