• ७ मंसिर २०८१, शुक्रबार

भेषजबिन्दु साहित्य पुरस्कारबाट प्रा.डा.न्यौपाने पुरस्कृत

blog

पुरस्कृत साहित्यकार सहित विभिन्न व्यक्तिहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक २८ गते । भेषजबिन्दु साहित्यिक पुरस्कार प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले यस वर्षको पुरस्कार न्यौपालेलाई प्रदान गरेको हो । 

स्याङ्जा गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ मा पर्ने उत्तरबाहिनीमा सम्पन्न भएको नियमित रचना वाचन र साहित्यिक यात्राको ७८ औं शृङ्खलाको अवसरमा न्यौपानेलाई पुरस्कृत गरिएको हो । यस्तै भेषजराज साहित्य सम्मानबाट डाक्टर तर्कना शर्मालाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले जानकारी दिनुभयो । उहाँको अनुसार पुरस्कारको राशी रु. १० हजार र सम्मानको राशी रु. दुई हजार छ ।

उत्तरबाहिनीमा चलिरहेको मातापिता पूजन दामोदर धार्मिक महोत्सवका अवसरमा रचना वाचनसहित दुबैजनालाई सम्मानित गरिएको हो । दुर्गाखिमा फाउण्डेशन र भेषजराज साहित्य प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गरेका थिए । ।

कार्यक्रममा डाक्टर शालिग्राम सुवेदीले साहित्य समाजको ऐना भएको भन्दै पवित्र भूमि कालिगण्डकी तटमा भएको साहित्यीक सम्मान तथा रचना वाचन कार्यक्रम फरक शैलीको भएको बताउनुभयो । 

पूर्वसांसद शङ्करप्रसाद पाण्डेले साहित्य र संस्कार संस्कृति एकआपसमा जोडिएको बताउनुभयो । कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले साहित्यमार्फत पूर्वीय दर्शनको प्रचार गर्न सहज भएको बताउनुभयो ।