• ९ जेठ २०८१, बुधबार

स्थानीय तह निर्वाचन, कतै स्थगित कतै पुनः मतगणना

blog

निर्वाचित सञ्चारकर्मी छत्रबहादुर राउत र दलित रामप्रसाद राम । तस्बिर : माला कर्ण

मधेस प्रदेश ब्युरो

जनकपुर, जेठ ३ गते । मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।  

त्रुटि सच्याएपछि बटेश्वरमा मतगणना पुनः सुरु

ढल्केबर समाचारदाताका अनुसार धनुषाको बटेश्वर गाउँपालिकामा त्रुटि सच्याएपछि पुनः मतगणना सुरु भएको छ । कम्प्युटरमा एउटै परिणाम दुई पटक प्रविष्टि भएपछि सोही विषयलाई लिएर बटेश्वर गाउँपालिकाको मतगणना आइतबार राति १२ः०० बजेदेखि रोकिएको थियो । 

बटेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत उद्धव ढोडारीले कम्प्युटर प्राविधिकबाट सामान्य त्रुटि भएको बताउनुभयो । त्रुटिलाई सच्याएर मतगणना गर्ने कार्य पुनः सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार ९ः०० बजेबाट पुनः मतगणना सुरु भएको छ । बटेश्वर गाउँपालिकामा १० हजार ४६४ मतदान भएकोमा तीन हजार ३७१ मतगणना भइसकेको छ । 

मतगणनाअनुसार नेपालीका काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष उम्मेदवार रामअशिष महतोको एक हजार ३५० मत प्राप्त गरेर अग्रस्थानमा छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका श्यामबाबु महतो ६१५ मत ल्याउनु भएको छ । 

जलेश्वरमा जसपाले खाता खोल्यो

यस्तै जलेश्वर समाचारदाताका अनुसार जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विजयी खाता खोलेको छ । जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा जसपाका अनिलकुमार झा विजयी हुनुभएको छ । उहाँले ५४७ मत ल्याएर विजयी हुनुभएको जलेश्वर नगरपालिकाका निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले जानकारी दिनुभयो । झाका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राकेशकुमार साहले ४२७ मत ल्याउनु भएको छ ।  

निर्वाचित वडाध्यक्ष झा यसअघिको निर्वाचनमा पनि सोही वडाका वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । विजयीभएका वडाध्यक्ष झाले जनताले अघिल्लो कार्यकालमा बाँकी रहेका अधुरो काम पूरा गर्ने जिम्मेवारीका साथ दोस्रो पटक आफूलाई विजयी बनाएको बताउनुभयो । 

एक सञ्चारकर्मी र दलित वडाध्यक्षमा विजयी

कल्याणपुर समाचारदाताका अनुसार सप्तरीको हालसम्मको मत परिणामअनुसार एक सञ्चारकर्मी र एक दलित युवासँगै छ ठूला दल र जनमत पार्टीका दुईवटा वडामा वडाध्यक्ष विजयी भएका छन् । जिल्लाको सुरुङ्गा नगरपालिका–१ मा नेकपा एकीकृत समाजवादी पार्टीका छत्रबहादुर राउत (राजकुमार) ६०१ मत ल्याई विजयी हुनुभएको छ । निर्वाचित राउत करिब डेढ दशकदेखि पत्रकारको रूपमा लेखन कर्ममा सक्रिय रहनुभएको थियो । उहाँ कान्तिपुर टेलिभिजनको सिरहा रिपोर्टर भएर काम गर्दै आउनुभएको थियो । 

त्यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका–२ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा रामप्रसाद रामले ५४९ मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन अधिकृत तोमनाथ उप्रेतीले जनकारी दिनुभयो । विद्यार्थी राजनीतिदेखि सक्रिय रहँदै आएका राम दलित समुदायको युवा नेताका रूपमा सक्रिय हुनुहुन्छ । 

यता जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले जिल्लाका विभिन्न स्थानीय तहको वडाध्यक्षमा जित हासिल गरेको छ । हालसम्म जनमत पार्टीले दुईवटा वडामा विजय प्राप्त गरेको छ । 

खडक र नगराइनमा मतगणना स्थगित 

कल्याणपुर र जनकपुरधाम समाचारदाताका अनुसार सप्तरीको खडक नगरपालिकाको मतगणना परिणाममा कर्मचारीले गरेको बदमासीका कारण मतगणना स्थगित भएको छ । मतगणनामा खटिएका कर्मचारीले मतगणना परिणाम तलमाथि गरेको र कम्प्युटरमा अपडेट गर्ने कर्मचारीले गलत सूचना दिएको भन्दै उम्मेदवारहरूले पुनः मतगणना गर्नुपर्ने र मतगणनामा खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखी मतगणना कार्य तत्कालका लागि स्थगित गरिएको छ । 

सो नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत परिणाम सार्वजनिक भएपछि मतको सङ्ख्यामा तलमाथि देखिएको र बाहिर गलत सूचना सार्वजनिक गरिएको भन्दै उम्मेदवारले मतगणना कार्य स्थगित गरेका छन् ।

यता नगरपालिकाका निर्वाचन अधिकृत मो. मुन्नाले दिएको जानकारीअनुसार कर्मचारीले केही त्रुटि गरेको तर पुनः मतगणना गर्ने सहमति भएपछि कर्मचारी परिवर्तन गरेर भए पनि मतगणना गर्ने जानकारी दिनुभयो । वडा नम्बर १, २ र ४ मा मत परिणाम सार्वजनिक भई वडाध्यक्ष निर्वाचित भइसकेका छन् । 

यता, धनुषाको नगराइन नगरपालिकामा पनि मतगणना स्थगित भएको छ । मतगणना भइरहेको अवस्थामा मतदान अधिकृतको दस्तखत नभएको र मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र भएको कारण देखाएर निवेदन परेपछि निर्वाचन अधिकृतको कार्यालय नगराइनले मतगणना स्थगित गरेको सूचना जारी गरेको हो । 

निवेदन दिनेमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख पदका उम्मेदवार राजेश चौधरीसहित ११ जना साथै धर्मेन्द्रप्रसाद गुप्तासहित पाँच जनाले निवेदन दिएपछि निर्वाचन अधिकृतको कार्यालय नगराइनले अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरेको जनाएको छ । 

वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनअन्तर्गत नगरपालिकाका वडा नम्बर २ को राप्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा मतदान अधिकृतको दस्तखत नभएको कारण देखाई लोसपाका प्रमुख पदका उम्मेदवार चौधरीसहित ११ जनाले निवेदन दिनुभएको थियो । यस्तै पालिका स्थित उपस्वास्थ्य चौकी रामबाग (ख) को मतपेटीकामा मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र देखिएको कारण देखाई धर्मेन्द्रप्रसाद गुप्तासहित पाँच जनाको मतगणना कार्य स्थगित गर्न निवेदन परेपछि हाललाई मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदिपकुुमार दङ्गोलले जानकारी दिनुभयो ।