• ७ पुस २०८१, आइतबार

धार्मिक सहिष्णुताको पर्याय

blog

 नेपालको तराई मधेशमा ठुलो चाडका रूपमा मनाइने छठ कात्तिक महिनामा धुमधामका साथ मनाइन्छ । विगत केही वर्षसम्म नेपालको तराई मधेशमा मात्र मनाइने यो पर्व हिजोआज राजधानी काठमाडौँलगायत मुलुकको प्रायः सबै सहरमा विशेष आस्थाका साथ मनाउन थालिएको छ । 

हिन्दु धर्मावलम्बीको पर्वका रूपमा मात्र चिनिएको यो पर्व हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीले पनि उत्तिक्कै हर्ष र उल्लासका साथ मनाउनु यस पर्वको विशेषता हो । धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधता रहेको नेपालजस्तो मुलुकमा पहाडी, मधेशी, हिन्दु, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबिच जातीय क्षेत्रीय सद्भाव र एकता धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउनमा मद्दत पु¥याइरहेको छ । आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आफ्ना आमाबुबालाई समेत महìव दिन छोडिएको वर्तमान समाजमा अस्ताउँदो सूर्यको पूजा आरधना गरेर मनाइने यो पर्वले समस्त मानव समुदायलाई नैतिक शिक्षासमेत दिइरहेको छ ।

कात्तिक महिनाको सुरुवातसँगै जनमानसमा एउटा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । जनजिब्रोमा छठपर्व झुन्डिन थाल्छ । यसपालि छठपर्व कसरी मनाउने, घर आँगनको सरसफाइ कसरी गर्ने ? मानिसको ध्यान केन्द्रित हुन थाल्छ । धार्मिक निष्ठाले भरिएको जनमानसमा एउटा नवीन उत्साहको सञ्चार हुन्छ । 

मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो पर्वको पहिलो दिन अस्ताउँदो सूर्य र दोस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइने गरिन्छ । यस वर्ष यो पर्व मनाउने क्रममा षष्ठी (विहीबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । सप्तमी (शुक्रबार) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सम्पन्न हुँदै छ ।

वैज्ञानिक दृष्टिकोणले समेत सूर्यको पूजा उपासना स्वस्थ्य शरीरका लागि लाभदायक मानिन्छ । सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । 

संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबोलोनका निवासीले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ । जापानी इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारीका रूपमा मान्ने गर्छन् र यी आदि पुरुष र आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् । त्यसै गरी, मिश्र सभ्यतामा ‘एटम’ अथवा ‘रे’ भनेर सूर्यको पूजाआजा गर्ने गरिन्छ ।

नेपालमा अस्ताउँदो सूर्यलाई पूजा गर्दा यसलाई छठी माताको पूजा भनिन्छ भने उदाउँदो सूर्यलाई पूजा गर्दा यसलाई दीनानाथ अर्थात् सूर्यको पूजा गरिएको मानिन्छ । वेदग्रन्थमा पनि छठी पूजाको भोलिपल्ट अर्थात् सप्तमी तिथिको देवता सूर्यलाई नै मानिएको छ । 

छठपर्वको सुरुआत कहिलेदेखि भयो यसको कुनै लेखाजोखा छैन । यसको कुनै यकिन इतिहास छैन । वेदपुराणमा छठी पूजाको शुभारम्भबारे विभिन्न मिथक, किंवदन्ती भनिएको पाइन्छ । अत्रि मुनीको अर्धाङ्गिनी सती अनुसुइयाले कुष्ठरोग (कोढ) बाट ग्रस्त आफ्ना पतिको स्वस्थ्य जीवनको कामना गर्दै पहिलो पटक छठी पूजा गरेकी थिइन् भन्ने सूर्य पुराणमा उल्लेख छ । त्यसै बेलादेखि नै यस पर्वको शुभारम्भ भएको भन्ने धेरैको भनाइ छ । त्यस्तै, साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्राप स्वरूप कुष्ठरोग (कोढ) बाट ग्रस्त श्रीकृष्ण पुत्र साम्ब सूर्यको आराधनाबाट रोगमुक्त भएको चर्चा गरिएको छ । त्यसै गरी श्रापबाटै पीडित कवि मयूर भट्टले पनि सूर्यकै उपासनाबाट स्वस्थ्य र सुन्दर शरीर पुनः प्राप्त भएको कथासँग जोडिएर छठपर्वको प्रारम्भ भएको धेरैको मान्यता छ । महाभारतको प्रसङ्गलाई उल्लेख गर्ने हो भने महाभारत कालमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी द्रौपदीले सूर्यको आराधना गरेकाले महाभारतकालदेखि नै यस पर्वको सुरुवात भएको पनि मान्यता छ । 

नेपालको तराईमा दीपावलीको दिनदेखि नै यो पर्व सुरुवात हुन्छ । खास गरी चार दिनसम्म यो पर्व धुमधामका साथ मनाइन्छ । कात्तिक महिनाको सुरुवातसँगै छठी पूजा हुने समाजमा व्र्रत गर्ने वा नगर्ने कसैले पनि माछा मासुलगायतको मांसहारी भोजन ग्रहण गर्दैन । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्ध भएर बस्ने गरिन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छ । 

खास गरी यो पर्वलाई महिलाले मनाउने गरिए पनि हिजोआज पुरुषले समेत गर्ने गरेको पाइन्छ । यो पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन व्रतालुले स्नान ध्यान गरी खास गरी अरूवा चामलको भात, 

रहरको दाल र लौकाको तरकारीको खाना बनाई 

खाने गर्छन् । 

दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सक्खर, दुध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । चढाइएको सो खिरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्छन् । छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादका रूपमा पठाइन्छ ।

यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा कसारलगायतका परिकार तेल घिउमा पकाइन्छ । तयार पारिएका परिकार, पाँचथरीका मिठाई, उखु, अदुवा, नरिबल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दुधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन्, जहाँ विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यव्रmम गरिन्छ । छठको परम्पारिक गीत तथा मङ्गलमय धूनले त्यहाँको वातावरण झन् उल्लासमय बनेको हुन्छ ।

सूर्य अस्ताउन थालेपछि पहिलो अर्घ दिइन्छ । अर्घ दिएपछि व्रतालु घर फर्कन्छन् । हिजोआज व्रतालु घर नफर्की त्यही घाटमै रातभरि जाग्रम बस्छन् । त्यहाँ कसै कसैले भाकल गरे अनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ । 

भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महान् यात्रा यही सम्पन्न भएको मानिन्छ । यो पर्वको समापनपछि पनि व्रतालुले प्रसादसहित घरको देवता, इनार, कल (ट्युबेल) को पूजाआजा गरी प्रसादलाई माग्नेहरूबिच बाँडेर त्यसपछि व्रतालु साबिकबमोजिमको अन्नजल ग्रहण गर्छन् । सरकारले यस पर्वलाई राष्ट्रिय मान्यता दिई त्यस दिन सार्वजनिक बिदासमेत दिइने गरिन्छ ।