• ७ पुस २०८१, आइतबार

‘टाइगरले पायो उत्कृष्ट कुकुर सम्मान’

blog

काठमाडौँ, कात्तिक १५ गते । कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ । अपराध अनुसन्धानमा प्रहरीलाई सफलता दिलाउने कुकुरलाई पनि प्रहरीले उत्कृष्ट भोजन गराउने नै भयो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७, खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापाको हत्यामा संलग्नलाई पक्राउ गर्न विशेष भूमिका खेलेको साढे दुई वर्षको जर्मन सेफर्ड कुकुर ‘टाइगर’ ले यो वर्षको सर्वोत्कृष्ट कुकुरको सम्मानै पाउने भएको छ । 

२०८० पुस १७ गते शिवपुरी गाउँपालिका–९, बखतीटोल बस्ने ७५ वर्षीय नेत्रकुमारीको हत्या अनुसन्धानमा पनि टाइगरले दिएको प्रमाणका आधारमा प्रहरी अपराधी पक्राउ गर्न सफल भयो । 

कुकुर ह्यान्डलर वरिष्ठ प्रहरी हवलदार भीम गौतमले एक वर्षको बिचमा टाइगरले गम्भीर अपराधका दुई जना अभियुक्तलाई पक्राउ गर्न सफल भएपछि सर्वोत्कृष्ट सम्मान पाएको बताउनुभयो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यले २०२६ सालदेखि नै अपराध अनुसन्धानमा कुकुर प्रयोग गरिँदै आएको छ । नेपाल प्रहरीका १२ निकायमा रहेका एक सयभन्दा धेरै कुकुरले अपराध अनुसन्धानमा सहयोग पु¥याउँदै आएका छन् । हरेक वर्षको कुकुर तिहारको दिन नेपाल प्रहरीको केनाइन महाशाखाले अपराध अनुसन्धानमा खटिएकामध्ये उत्कृष्ट कुकुरलाई विशेष कार्यक्रम गर्दै सम्मान गर्ने गरेको छ । 

कुकुरलाई कसरी अपराध अनुसन्धान तथा खोजीकार्यमा प्रयोग गर्न सकिन्छ भनेर पाँच जना प्रहरीलाई तालिमका लागि मलेसिया पठाइएको थियो । तालिमसँगै चार वटा कुकुर ल्याएर अनुसन्धानमा खटाइएको थियो । त्यसयता नेपाल प्रहरीले गम्भीर किमिसका अपराध अनुसन्धानमा कुकुर प्रयोग गरेर सफलता हात पारिरहेको दाबी गर्दै आएको छ । 

नेपाल प्रहरीसँग अपराध अनुसन्धानका लागि प्रयोग हुने छ प्रजातिका एक सयभन्दा बढी कुकुर रहेको नेपाल प्रहरीको केनाइन महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामचन्द्र सत्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुरलाई न्यूनतम चार महिनादेखि एक वर्षसम्म तालिम दिने गरिन्छ । कुकुरले निश्चित समय पूरा गरेपछि निवृत्त जीवनसमेत बिताउने गर्छ । पाँचदेखि १० वर्षसम्म कुकुरले प्रहरीलाई सहयोग गर्ने गरेको सत्यालले उल्लेख गर्नुभयो । स्वास्थ्य अवस्था, नश्ल र उमेरका आधारमा कुकुर निवृत्त हुने उहाँले बताउनुभयो । 

त्यसरी निवृत्त भएका कुकुरलाई लिएर जाने अधिकार भने तालिम दिने व्यक्तिलाई रहने उहाँले बताउँदै तालिम दिने व्यक्तिले नमाने नेपाल प्रहरीकै कर्मचारी र त्यसो नभएमा सर्वसाधारणले लिएर जान सक्ने हिसाबले प्रहरीले सूचना जारी गर्छ । 

नेपाल प्रहरीमा जस्तै कुकुरको पनि दर्जा हुने भनेर समय समयमा चर्चा हुने भए पनि कुकुरको जात र क्षमता अनुसार फरक फरक अपराध अनुसन्धानमा खटाइने तर दर्जा भने नहुने सत्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अपराध अनुसन्धानका लागि नेपाल प्रहरीले छिमेकी राष्ट्र भारत, थाइल्यान्ड, बेलायत, अमेरिकालगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याएर तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गर्ने गरेको छ । आकारमा ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने बताउँदै शान्त स्वभावका कुकुरलाई भागेका मानिस ट्र्याक गर्ने जिम्मेवारी दिने गरिँदै आएको छ । कुकुरको ‘ब्रिड’ अनुसारै स्वभावको पहिचान गरेर कस्तो तालिम दिने भन्ने निर्धारण गरिएको हुन्छ । कुकुरलाई स्वस्थ बनाउन उसलाई सन्तुलित आहार प्रदान गर्ने गरिएको छ । प्रहरीले ‘डग फुड’ खुवाउने गर्छ । एउटा कुकुरलाई दैनिक छ सय ग्राम ‘डग फुड’ खुवाउने गरिन्छ ।