• २७ पुस २०८१, शनिबार

डेंगु रोकथामका लागि लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान

blog

स्थानीय बसपार्क क्षेत्रमा टायर फालेर लमखुट्टेको लार्भा नष्ट गर्दै नगर प्रहरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १४ गते । डेंगु रोगका बिरामी तीव्र गतिले बढ्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले सो रोग सार्ने लामखुट्टेको खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले लामखुट्टेको खोजी तथा लार्भा नष्ट अभियानको बुधवार स्थानीय बसपार्कबाट सुरुवात गर्दै सरसफाइमा विशेष ध्यान दिनुका साथै अनावश्यक रूपमा पानी जम्न नदिन सर्वसाधारणसँग आग्रह गर्नुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सुरु गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान २३ वटै वडामा सञ्चालन गरिने जनाउँदै बढी भन्दा बढी सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । 

उपमहानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बसपार्क क्षेत्रमा मानिसहरूको आवतजावत बढी हुने र टायरहरूमा लामखुट्टेका लार्भा हुर्किने भएका कारण बसपार्क क्षेत्रबाट सो अभियान थालिएको बताउनुभयो । बसपार्क रहेको वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ पहिलेदेखि नै डेंगुको ‘हटस्पट’का रूपमा रहेकाले सचेतनासँगै लार्भा नष्ट गर्ने अभियान यहीबाट सुरुवात गरिएको बताउनुभयो । 

नेपालगन्ज स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरपालिकामा मात्रै गत तीन महिनाको अवधिमा १९५ जना डेंगु सङ्क्रमित भइसकेको जानकारी गराउँदै नियन्त्रण अभियानलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, उपमहानगरको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय, स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो ।

बाँकेमा हालसम्म ३४८ जना डेंगुबाट सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार डेंगु सङ्क्रमण समुदायस्तरमै फैलिएकाले छिटो नियन्त्रण नगरिए अवस्था भयावह हुनसक्ने चेतावनी दिनुभएको छ ।